केन्याका २३ वर्षीय अबुबकर अब्बास यतिबेला कतार विश्वकपमा फुटबल समर्थकहरूको प्रिय बनेका छन् । उनी सामाजिक सञ्जालमा भाइरल बनेका छन् । टेनिस अम्पायरको कुर्सीमा बसेर फोमको ठुलो औँलाले फुटबल समर्थकहरूलाई मेगाफोनको प्रयोग गरेर नजिकको मेट्रो स्टेसनको बाटो देखाउने उनको काम हो ।
उनले भन्ने ‘मेट्रो, यो बाटो ! मेट्रो, यो बाटो !’ यतिबेला चर्चित वाणी बनेको छ ।‘हामी उनलाई मन पराउँछौँ, हामीलाई ‘मेट्रो म्यान’ मनपर्छ,’ एकजना फुटबल समर्थकले भने ।
अर्का फुटबल समर्थकले भनेका छन्, ‘मैले उनलाई टिकटकमा देखेको थिएँ । मलाई निकै रमाइलो लाग्यो । उनले मलाई हसाउँछन् । उनको काम कति सहज छ ।’
कतारको चर्चित सोक वाकिफ बजार पुग्ने फुटबल समर्थकहरूले आज भोलि उनीसँग कुराकानी गर्न पुग्ने गरेका छन् । उनका अन्य समकक्षीले पनि उनीसँग रमाइलो गर्न थालेका छन् ।