६४ वर्षपछि विश्वकपमा छनोट भएको वेल्सको यात्रा समूह चरणमा नै टुंगिने खतरा बढेको छ । समूह बीको दोस्रो खेलमा इरानसँग २–० गोलले पराजित भएसँगै वेल्स प्रतियोगिताबाट बाहिरिने नजिक पुगेको हो ।
गोलरहित बराबरी तर्फ अघि बढेको खेलको ८६ औँ मिनेटमा वेल्सका गोलकिपर वेयन हेनसीले रातोकार्ड पाएपछि इरानले त्यसको भरपुर फाइदा उठाएको थियो । खेलको इन्जुरी समयको अन्त्यमा रुजबेह चेस्मी र रामिन रिजाइनले गोल गर्दै इतिहासमा पहिलो पटक प्रतियोगिताको नकआउट चरणमा पुग्ने वेल्सको सपनामा ठूलो धक्का दिए ।
दुई खेलपछि वेल्स एक अंकसहित समूहको पुछारमा रहेको छ । इरान भने तीन अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ ।