भारतीय क्रिकेटर विराट कोहलीले एक तस्विर ट्वीट गरेका छन् जसले गर्दा उनले सन्यास लिन लागेको भन्दै व्यापक चर्चा भइरहेको छ । विराट हल ब्रेकमा रहेका छन् । यसै दौरान उनले ट्वीटर र इन्सटाग्राममा टी–२० विश्वकपमा मेलबर्नमा भएको भारत र पाकिस्तानबीचको एक तस्बिर साझा गरेका छन् ।
जसले गर्दा यतिबेला सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजीहरू गरिँदैछ । विराटले तस्बिरसँग लेखेका छन्, ‘२३ अक्टोबर, २०२२ यो दिन मेरो लागि सधैँ खास रहनेछ । कुनै पनि खेलमा पहिले यस्तो ऊर्जा महसुस गरेको थिइनँ । कस्तो उत्कृष्ट साँझ थियो त्यो !’
भारत र पाकिस्तानबीच भएको उक्त खेलमा विराटले ५३ बलमा ८२ रन बनाएका थिए । खेलमा पाकिस्तानले भारतलाई १६० रनको लक्ष्य दिएको थियो । यस खेलको रोमाञ्चक अन्तिम बलसम्म कायम रहेको थियो ।
विराटले भारतका लागि असम्भव देखिएको जीतलाई वास्तविकता बनाएका थिए । उनले तस्बिर पोस्ट गरेपछि उनका समर्थकहरुले विराटले कतै सन्यास लिन लागेका त होइनन् भन्दै प्रश्न उठाएका छन् ।
एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘भाइ, यस्तो तस्बिर लगाएर नलेख्नुहोस्, मुटुको धडकन बढ्न थाल्छ, कतै सन्यासको घोषणा त गरेका होइनौँ ।’ सोनी नाममा एक प्रयोगकर्ताले लेखेकी छन्, ‘मलाई त सुरुमा सन्यासको घोषणा पो गर्न लागेको भन्ने लागेको थियो ।’
अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘ढंगको तस्बिर प्रयोग गर्नुहोला, बिहान बिहान झण्डै हृदयघात आएको ।’