क्रेजी संवाददाता
उर्लाबारी । उर्लाबारीमा स्थापित मदन भण्डारी स्मृति प्रतिष्ठानको आयोजनामा बृहत् विज्ञान, प्रविधि तथा वास्तुकला सम्बन्धी प्रदर्शनी ‘आगमन–२.०’ हुने भएको छ ।
प्रतिष्ठानले गत वर्षदेखि सुरुवात गरेको प्रदर्शनीमा यस पटक ६ हजार बढीले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलनमा प्रतिष्ठानका कार्यकारी निर्देशक विनोद अर्यालले मंसिर १६ र १७ गते हुने प्रदर्शनीमा विद्यार्थीले तयार गरेका विज्ञान तथा प्रविधिसँग सम्वन्धित ४० वटा स्टल रहने जानकारी गराउनुभयो ।
विद्यालय तथा कलेज स्तरका विद्यार्थीहरुलाई इन्जिनियरिङ, प्रविधि तथा वास्तुकलाका नवीनतम् प्रयोगहरुको ज्ञान प्रदान गर्ने हेतुले यो प्रदर्शनीको आयोजना गरिएको अर्यालले सुझाउनुभयो । उक्त अवसरमा विद्यालय तथा कलेज स्तरका विद्यार्थीहरुलाई विभिन्न विधामा प्रतिस्पर्धा गराई उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था गरिएको छ । उर्लाबारी–३ मा अवस्थित मदन भण्डारी कलेज अफ इन्जिनियरिङ परिसरमा हुने प्रदर्शनीमा झापा, मोरङ र सुनसरी जिल्लाका एक सय वटा प्राविधिक तथा विज्ञान कलेज र ५० वटा विद्यालयलाई निमन्त्रणा गरिएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा बृहत् विज्ञान प्रदर्शनी बारे जानकारी गराउनुहुँदै कार्यकारी निर्देशक प्रा. विनोद अर्याल ।