क्रेजी साप्ताहिक एजेन्सी । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा भएको आगलागीमा परी कम्तीमा ४३ जनाको ज्यान गएको छ । कारखानामा आगलागी भएको र सख्त घाइतेहरुको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने त्यहाँका स्वास्थ्यकर्मीहरुले बताएका छन् । सहरको साँघुरो बस्तीमा आगलागी भएपछि निर्माण सामग्री र भण्डारण गरिएका सामग्रीका कारण आगो नियन्त्रण गर्न कठिन भएर धेरैतिर फैलिएको बताइएको छ ।
घटनास्थलबाट कम्तीमा ५० जनाभन्दा बढीलाई उद्धार गरीएको नयाँ दिल्लीका प्रहरी उपप्रमुख सुनिल चौधरीले जानकारी दिए ।“उद्योगमा काम गर्ने मजदुरहरु सुतिरहेका बेला चार पाँच तले भवनमा आगलागी भएको थियो,” उनले भने “खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको छ ।”नयाँ दिल्लीका एक जना बरिष्ठ प्रहरी अधिकारीले आगलागी भएको भवनमा कम्तीमा ५८ जना रहेको प्रारम्भिक जानकारी प्राप्त भएको बताए । अग्नि नियन्त्रकहरुले आगलागी नियन्त्रण गर्न निकै कठिनाई भएको बताएका छन् । आगलागी भएको भवनमा स्कुले विद्यार्थीका झोला र प्याकेजिङ गर्ने सामग्री राखिएका थिए ।
आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको र अनुसन्धान भइरहेको उद्धारकर्ताहरुले जनाएका छन् । उद्धार गरिएका सबैलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । भारतका धेरै शहरमा रहेका कारखाना तथा साना उत्पादन केन्द्रहरु पुराना तथा साँघुरा गल्लीहरुमा सञ्चालन गर्ने गरिएका छन् ।