कोहलपुरमा निसेधित क्षेत्र घोषणा - Crazysaptahik.com

कोहलपुरमा निसेधित क्षेत्र घोषणा


क्रेजी साप्ताहिक । कोहलपुरमा भएको सवारी दुर्घटनाबाछ एक बालिकाको ज्यान गएपछि उक्त क्षेत्र अहिले तनाबग्रस्त बनेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको चमेनागृहमा आन्दोलनकारीले आगजनी गरेपछि अहिले त्यहाँ निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रहरी कार्यालय तोडफोड हुन थालेपछि प्रहरीले इलाका प्रहरी कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

सहपाठीलाई ट्रकले किचेपछि आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले दमन गरेको भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा आन्दोलनकारीले तोडफोड तथा चमेनागृहमा आगजनी गरेका थिए । निषेधित क्षेत्र घोषणापछि आन्दोलन केही मत्थर बनेको छ । आन्दोलनमा एक दर्जनबढी विद्यार्थी र प्रहरी घाइते भएका छन् ।
आन्दोलनकारीको ढुङ्गा प्रहारबाट इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही पनि घाइते भएका छन् । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । अनियन्त्रित भिडलाई नियन्त्रणमा लिन यसअघि प्रहरीले हवाई फायरसमेत गरेको थियो ।

आन्दोलनले उग्ररूप लिएपछि कोहलपुरमा प्रहरीले गोलीसमेत चलाएको थियो । गोली लागेर त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने सुशील थापा गम्भीर घाइते भएका छन् । अवस्था नियन्त्रण बाहिर गएपछि कोहलपुरमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । तनावग्रस्त बनेपछि कोहलपुर बजार पूर्णरुपमा बन्द भएको छ । अवस्था तनावपूर्ण बनेपछि कोहलपुरका उद्योगी व्यवसायीहरुले संयमता अपनाउन आग्रह गरेका छन् ।कोहलपुरका व्यवसायी देवानन्द अर्यालका अनुसार थप क्षति नहोस् भन्दै संयमता अपनाउन प्रहरी र आन्दोलनकारीलाई आग्रह गरिएको छ । उनले कोहलपुरलाई थप क्षति हुनबाट जोगाउन संयमता अपनाउनुको विकल्प नभएको बताए ।

त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा कक्षा ७ मा अध्ययनरत बालिका प्रकृति चन्दको ट्रकको ठक्कर दिएपछि तनाव उत्पन्न भएको थियो । आफ्ना बुवासँग मोटरसाइकलमा विद्यालय आएकी प्रकृतिलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको थियो । विद्यालय प्राङ्गण नजिकै भएको दुर्घटनालगत्तै आक्रोशित बनेका विद्यार्थीले ट्रकमा आगजनी गरेका थिए ।

सम्बन्धित खवर