‘आम समुदायलाई आह्वान गर्न चाहन्छु कि व्यक्तित्व हेरौं, व्यक्तित्व विकासलाई चुनौं’ - Crazysaptahik.com

‘आम समुदायलाई आह्वान गर्न चाहन्छु कि व्यक्तित्व हेरौं, व्यक्तित्व विकासलाई चुनौं’

– अशोक शंकर
नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय अध्यक्षका उम्मेद्वार

मोरङ पथरीशनिश्चरे–१ सगरमाथा चौकका स्थायी बासिन्दा हुन् अशोक शंकर । स्वालम्बी, निडर, कर्मठ, सहयोगी र स्पष्टवक्ता हुन् अशोक । युवा व्यवसायी शंकरले सन् २०१० (२०६७) मा पथरी जेसीजको संस्थापक अध्यक्ष बनेका थिए । यस्तै उनी सन् २०१४ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा बसेर कार्य सम्पादन गरिसकेका छन् । यसरी नै सन् २०१८ नेपाल जेसीजको कार्यकारीणी पद पनि सम्हालिसकेका छन् । आउँदो पुस ९ गतेदेखि १२ गतेसम्म चितवनको रत्ननगर जेसीजले होस्ट गर्दैछ । त्यहीँबाट नेपाल राष्ट्रिय जेसीजको ४६ औं महाधिवेशनको महासभाबाट अध्यक्ष जस्तो गरिमामय पदमा उम्मेद्वारका रुपमा उभिसक्नु भएको छ । त्यही जल्दाबल्दा र जुझारु युवासँग समसामयिक विषयमा रहेर तयार पारिएको संवादका मुख्य अंशहरू : –

नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष जस्तो जिम्मेवारी पदमा उठ्दै हुनुहुन्छ, तपाईको उम्मेद्वारी दिने आधारहरु के–के छन् ?
– हेर्नुहोस्, नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदको जिम्मेवारीका लागि त सर्वप्रथम जेसीज अभियान निरन्तर १० वर्षदेखि अथक खटिरहेको कर्मशील योद्धा सिपाही हुँ म । जेसीजको ढाँचा अनुसार व्यक्तिगत रुपमा ढाँचा तयार पार्ने हो । युवाहरुलाई व्यवसायिक रुपमा अगाडि बढाउने, अन्तराष्ट्रिय सम्बन्धको बिषयमा परिवर्तन गर्ने । नेतृत्वदायी भूमिका निर्वाह गर्ने, सकारात्मक सोचलाई अभिवृद्धि गराउने, समुदाय भित्र उत्कृष्ट युवा बन्ने अभियानलाई समुदाय मार्फत् जोडेर सव्ल र सक्षम युवा निर्माण गर्ने भन्ने आधारहरु हुन् । यिनै माथि उल्लेखित कुराहरुलाई परिचालन गर्दै मुख्य मेरो उम्मेद्वावारी आधारहरु तय गरिएको हो ।

तपाईको नेपाल जेसीजको अध्यक्ष जित्ने आधारहरु के–के हुन त ?
– नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा मुख्य जित्ने आधारहरु पनि मैले प्रशस्त देखिरहेको छु । त्यसमा पनि जेसीजको ४ वटा क्षेत्रहरु मध्ये मेरो एरिया ‘ए’ यस क्षेत्रबाट सिंगल उम्मेद्वारीका रुपमा उभिएको छु । एरिया ‘डी’ मा कार्यकारिणी उपाध्यक्ष जस्तो पदमा बसेर निरुपृत भएर कार्य सम्पादन गरेको प्रशस्त अनुभव छ मसँग । युवाहरुलाई व्यक्तिगत र चौतर्फी विकासमा लैजाने, समाजको उत्कृष्ट युवाको रुपमा अन्तराष्ट्रिय युवाहरुसंग प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान र अब्बल युवा निर्माण गर्ने एजेण्डा मुख्य भएकाले पनि मेरो जित्ने आधार प्रशस्त देखेको छु । त्यसमा पनि युवाहरुको साथ सहयोग, माया ममता सद्भाव प्राप्त भइरहेको छ ।

यदि तपाईले जीत हासिल गर्नुभयो भने, आम नेपाल जेसीजका लागि के योगदान गर्नुहुन्छ ?
– यदि मेरो जित भयो भने ‘युवाहरुलाई स्वास्थ्य र स्वच्छ अभियान’ चलाउनेछु । नेपालको आर्थिक विकासको आधार भनेको नै पर्यटन र कृषि हो । यस क्षेत्रमा लाग्नका लागि उद्यमशीलता, प्राविधिक विषयमा अब्बल बनाउने, तालिम दिने, पर्यटन वर्ष सन् २०२० लाई सफल वर्ष बनाउन नेपाल जेसीजले सन् २०२० मा छरिएर रहेका १ सय २० वटा देशमा नेपालको पर्यटकीय संभावनाहरुलाई आह्वान गर्ने जस्ता महत्वपूर्ण भूमिका खेल्नका लागि मेरो योगदान रहनेछ ।

तपाई अहिले नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदको उम्मेद्वारी लागि कति एरियामा खटिरहनुभएको छ ?
– अहिले म नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदको उम्मेद्वारीका लागि देशभरि नै घुमिरहेको छु । देशभरिका १ सय ५१ वटा शाखामा गएर छलफल चलाएका छौं । शाखाको आवश्यकताको विषयमा सुझाव संकलन र भावी रणनीति तयार गर्नमा ठाउँ–ठाउँमा पुगेर घनीभूत अन्तरक्रिया कार्यक्रम कार्य गरिरहेका छौं ।

आफ्नो एरियाबाट तपाईले कतिको सहयोग पाइरहनुभएको छ त ?
– मैले आफ्नो एरियाबाट उत्साहजनक सहयोग, माया, सद्भाव व्यवहार पाइरहेको छु । त्यसमा सबै साथीभाइ, छलफल, सल्लाह, सुझाव, हौसला प्रदान भइरहेको छ । सबै दल, विभिन्न संघ÷संस्था बुद्धिजिवी, शिक्षक, प्राध्यापक, दिग्गज वर्ग, तह–तरकाबाट सहयोग पाइरहेको छु । आफ्नो एरियाबाट मलाई जिताउनका लागि अभियानै चलाएर उर्जा दिने कार्य भइरहेको छ । त्यसैगरी प्राविधिक विषयमा पनि आर्थिक विषयमा पनि साथीहरुले अहोरात्र खटिरहनुभएको छ । साथीहरुले मलाई जिताउन लागिरहनुभएको छ ।

आर्थिक पाटोलाई कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
– हाम्रो जेसीआई पथरीले एउटा बजेट अनुरुप सहयोगी हातहरु मार्फत् बजेटिङ गरेर, नजिकका छिमेकी शाखाहरुबाट पनि आर्थिक स्वतः स्फूर्त साथ आर्थिक पाटोलाई व्यवस्थापन गरिरहेका छौं । मुख्यतः सहयोगी हातहरुको पनि सहयोग आइरहेको अवस्था छ, त्यसबाट नै व्यवस्था मिलाएका छौं ।

अब तपाईको नयाँ योजना के छ ?
– अबको योजना भनेको सन् २०२० का लागि योजना रणनीति निर्माण गर्न, उम्मेद्वारी तालिममा सहभागिता जनाउने । साथीहरुसँग सम्पर्क, भेटघाट बढाइ छलफल गर्ने, अन्तरक्रिया र सचेतनामूलक कार्यक्रम गर्ने योजना रहेको छ ।

नेपाल जेसीजले राजनैतिक पाटोलाई कसरी हेर्छ त ?
– जेसीजले कुनै राजनैतिक दल, पार्टीमा बसेर लबिङ गर्दैन । यो आफैंमा स्वतन्त्र संस्था हो । जेसीजबाट रिटाएर भइसकेपछि, देश बनाउने अभियानमा आफूलाई मनपर्ने राजनैतिक दल÷पार्टी रोजेर सवल, सक्षम देश निर्माण गर्ने अभियानलाई निरन्तरता दिनु हो ।

नेपाल जेसीजको विभिन्न संघ÷संस्थासँग कस्तो किसिमको भूमिका निर्वाह गर्दछ ?
– जेसीआईको रणनीति समाजमा भएका सबै संघ÷संस्थाहरुसँग मिलेर समाजमा देखिएका, कुनै समस्यालाई गहनतम ढंगले हल गर्न र निरुपण गर्न लाग्नुपर्दछ । कोर्डिनेशन (संयोजक) भूमिका जेसीजले विभिन्न संघ÷संस्थामा खेलेको पाइन्छ । त्यसमा पनि जेसीजले दैवीप्रकोप, आगलागि, भूकम्प जस्ता कुराहरुमा आवश्यक पर्ने कुराहरुलाई मध्यनजर राख्दै विभिन्न संघ÷संस्थाहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्दछ ।

र अन्त्यमा केही भन्नु छ कि ?
– यो देशको विकास उन्नतिको लागि, समाजका लागि यस्तो विभिन्न लक्ष्य बोकेर हिँडेको संस्थाहरु राजनीतिक दल, क्षेत्र, लिङ्ग र जातजातिका आधारमा लबिङ हुनुहँुदैन । त्यसमा पनि यस्तो कुरामा हस्तक्षेप गर्नु हुँदैन । प्रत्येक संस्थाको आ–आफ्नै सुन्दर लक्ष्य हुन्छन् । त्यस लक्ष्यमा युवाहरुलाई स्वतन्त्र रुपमा पुग्न दिने अन्ततगोत्वा यो समाज राष्ट्र निर्माण लागि योगदान हुनेछ । आम समुदायलाई आह्वान गर्न चाहन्छु कि व्यक्तित्व हेरौं । व्यक्तित्व विकासलाई चुनौं । नेतृत्व गर्न चाहने नेतालाई आफूलाई रोल मोडलमा प्रस्तुत गर्ने कुरा हेरौं । त्यसमा पनि मेरो विगतको कार्य सम्पादन, निरन्तर लगावलाई चिनौं । त्यसैले प्रत्येक जेसीआई यही कुरालाई चिन्तन मनन गरौं । त्यसैले सम्पूर्ण साथीहरुलाई मेरो उम्मेद्वारीलाई यहाँहरुले एक पटक जिताइ यो देश समाजको सेवा गर्ने मौका दिनुहोस् । मेरो सान्दर्भिक विचारहरु यस क्रेजी साप्ताहिक अनलाइन मार्फत् आएकाले पत्रकार टिमलाई मुरी–मुरी धन्यवाद दिन चाहन्छु ।

– प्रस्तुति : भूमिप्रसाद पाठक

सम्बन्धित खवर