क्रेजी साप्ताहिक । आज बिहानैदेखि भारी हिमपात भएपछि जुम्लाको जनजीवन कष्टकर भएको छ । हिमपातकै कारण जुम्लाबाट चल्ने लामा तथा छोटो दूरीका यातायात साधन र हवाई मार्ग ठप्प हुँदा तराई जाने यात्रुलाई सास्ती भएको कर्णाली यातायात समितिका अध्यक्ष मीनबहादुर थापाले जानकारी दिए ।
मङ्सिर महिनाको अन्तिम साता परेको हिउँले किसानले लगाएका गहुँ, जौ र हिउँदे बालीलाई फाइदा हुने तिला गाउँपालिका–१ का किसान सुन्दरी पाण्डे रावतले बताए । पानी नपर्दा किसानले लगाएको बालीनालीलाई पानीको समस्याले राम्रोसँग हुर्काउन नसकेका बेला जुम्लामा सही समयमा हिउँ परेको छ । हिउँबाट निस्केको पानीले बालिनालीलाई मात्र नभई स्याउका बिरुवालाई पनि राम्रोसँग फाइदा हुने किसान रतिमान बुढाले बताए ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार हिउँ परेकाले यहाँका अग्ला हिमालमा नचढ्न र सानासाना बालबालिकालाई हिउँमा राखेर नखेल्न प्रशासनले अनुरोध गरेको छ । जुम्लामा बिहानदेखि अहिलेसम्म करीब दुई फिटभन्दा बढी हिउँ परेको जनाइएको छ । हिउँ अझै बाक्लो पर्ने सम्भावना भएकाले आफ्ना बालबालिकालाई घरभित्रै राखेर न्यानो बनाउन सुझाव दिइएको छ ।