क्रेजी साप्ताहिक पर्वत । प्याजको अभाव झेल्दै आएका पर्वतवासीले यसको विकल्पमा विभिन्न चीज प्रयोग गर्न थालेका छन् । मुख्यगरी तरकारीजन्य र मासुजन्य परिकार, अचार, मःम, चुकौनी लगायतमा प्याजको प्रयोग हुने गरेकोछ । प्याजको विकल्पमा जिरा, मेथी लगायत अन्य चिज प्रयोग गर्न थालिएको सदरमुकामस्थित हिमाल होटलका सञ्चालक झलक आचार्यले जानकारी दिए । उनले भने “तरकारी तथा अचारमा प्याजको सट्टा जिरा, मेथी, दालमा लम्बु, प्रयोग गर्न सुरु गरेका छौ ।”
कुखुराको मासु र प्याजको मूल्यसमेत बराबरी जस्तै भएपछि होटलमा खान आउने ग्राहकलाई समेत प्याज प्रयोग नहुने परिकार खान आग्रह गर्ने गरेका छन् । पर्वतको ठूलीपोखरीकी राधा सापकोटाले भने “घरमा लगाएको प्याज असारमै सकियो । बजारमा महङ्गीले प्याज किनिसाध्ये छैन । अहिले लसुन, मेथी, जिरा पड्काउन थालिएको छ ।”
निकै न्यूनमात्रामा बिक्री हुने र नाफा पनि खासै नहुने भएकाले तीन÷चार महिनादेखि प्याज बिक्री गर्नै छाडेको तरकारी व्यवसायी ज्ञानेन्द्र बास्तोलाले जानकारी दिए । उनले भने “प्याज खानभन्दा माछा मासु खान सस्तो भयो । आजकल त कसैले किन्दैनन् । बिक्री गर्न छाडियो । बरु प्याजको सट्टा जिरा र मेथीको बिक्री बढेको छ ।”