काठमाडौं । फिफाको पछिल्लो वरियतामा नेपाली फुटबल टोली यथास्थानमा रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार डिसेम्बरका लागि सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ ।
नेपाल गत महिना पनि यहि स्थानमा रहेको थियो । अघिल्लो महिना भने नेपाल तीन स्थान तल झरेको थियो । दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा रहेको छ । फिफा वरियतामा १ सय आठौं स्थानमा रहेको भारत दक्षिण एसियाली राष्ट्र मध्ये शीर्षस्थानमा र माल्दिभ्स दास्रो स्थानमा छ । माल्दिभ्सको फिफा वरियता १ सय ५५ औं स्थानमा रहेको छ ।
फिफा वरियतामा नेपाल भन्दा पछाडि रहेका दक्षिण एसियाली राष्ट्रमध्ये बंगलादेश १ सय ८७ औं, भुटान १ सय ८९ औं, पाकिस्तान २ सय एकौं र श्रीलंका २ सय पाँचौं स्थानमा छ । फिफा वरियतामा बेल्जियम शीर्षस्थानमा यथावत रहँदा विश्व विजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो र उरुग्वे पाँचौं स्थानमा छ ।