क्रेजी साप्ताहिक दैलेख । अपहरणमा परेकी दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला जंगलमा फेला परेकी छन् । तर उनिसँगै अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको अवस्था भनचे अज्ञात छ ।आइतबार बिहानपख ठाँटीकाँध गाउँपालिका वडानम्बर २ श्रीपाटामा रहेको घरबाटै शाहि दम्पति अपहरणमा परेका थिए ।
गाउँपालिका अध्यक्ष शाही नेकपा जिल्ला कमिटी सदस्यसमेत हुन् भने उनकी श्रीमती इला नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष हुन् ।दैलेख घर भएका नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले इलालाई अपहरणकारीले बीच जंगलमा छाडेको र धीरबहादुर शाहीलाई भुवानथानतिर लगेको जानकारी दिएका छन् । यद्यपि प्रहरीले भने यसको पुष्टि गरिसकेको छैन । दैलेख प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओलीले भने, ‘मैले पनि त्यो कुरा त सुनेको हुँ, तर हाम्रो सम्पर्कमा नआइसकेकाले मैले पुष्टि गर्न सक्दैन ।’
उनीहरुलाई अपहरणकारीले बिजारेको जंगल हुँदै कालीकोटतर्फ लगेको स्थानीय बताउँछन् । उनीहरुको खोजीका दैलेखका साथै सुर्खेत र कालिकोटका सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । अपहरणमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको संलग्नता रहेको अनुमान गरिएको छ । यद्यपि यसको पुष्टि भने भइसकेको छैन । अपहरणको कारण पनि खुलेको छैन । यसअघि गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीका भाइ हस्तबहादुर शाहीलाई विप्लव समूहले अपहरण गरेर छाडेको थियो ।