ए डिभिजन लिगः आज मनाङ र आर्मी तथा पुलिस र थ्री स्टार भिड्ने - Crazysaptahik.com

ए डिभिजन लिगः आज मनाङ र आर्मी तथा पुलिस र थ्री स्टार भिड्ने


क्रेजी साप्ताहिक काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको उपाधि विक्रम संवत् २०५४ यता तीन क्लबले जितेका छन् । थ्री स्टारले २०५४ सालमा उपाधि जितेयता मनाङ मर्स्याङ्दी र नेपाल पुलिसले लिग जितेका छन् । यो २२ वर्षको बीचमा मनाङले सर्वा्धिक ५ पटक, थ्री स्टारले ४ पटक र पुलिसले ३ पटक लिग जितेको हो । यी तीन क्लब बाहेक पछिल्लो पटक एनआरटीले २०५२ मा लिग जितेको थियो । र उपाधिको नजिक कुनै टिम पुगेको थियो भने त्यो त्रिभुवन आर्मी क्लब नै थियो । यिनै चार क्लबले शहीद स्मारक ए डिभिजन लिग २०७६ मा आज एकै दिन खेल्दैछन् ।

उपाधिको दाबेदार मानिएको मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच आज पहिलो खेल हुनेछ । यस्तै अर्को उपाधि दाबेदार मानिएको थ्री स्टार र पुलिसबीच दोस्रो खेल हुनेछ । दुवै खेल दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । आजै एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल यू १५ र भुटान यू १५ गर्ल्स टिमबीच मैत्रीपूर्ण खेल हुँदैछ । त्यसैले एन्फा क्म्पेलक्समा हुने तय भएको मनाङ र आर्मीबीचको खेल रंगशालामा सारिएको हो । साविक विजेता मनाङ र गत वर्ष चौथो भएको आर्मीबीच दिउँसो १२ बजे खेल हुनेछ । गत सिजन एक खेलअघि नै उपाधि पक्का गरेको मनाङलाई यस सिजन उपाधि रक्षा गर्नु मुख्य चुनौती रहेको छ । पहिलो रोजाइका ७ खेलाडीले क्बल छाडेपछि मनाङलाई पुरानै लय भेट्न कठिन हुने ठानिएको छ । मनाङले पहिलो खेलमा विमल रानाको दुई गोल मद्दतमा विभागीय टोली एपीएफलाई २–० ले पराजित गरेको थियो । आज अर्को विभागीय टोली अनि उपाधि दाबेदार आर्मीसँग खेल्दैछ । आर्मीले पहिलो खेलमा फ्रेण्ड्सलाई २–१ ले पराजित गरेको थियो । दुवै टोली लगातार जित हात पार्ने लक्ष्यमा हुनेछ ।

यस्तै घरेलु फुटबलमा ‘राइभर्ली’ को रुपमा परिचित नेपाल पुलिस र थ्री स्टार क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ । गत वर्ष थ्री स्टार तेस्रो भएको थियो । मनाङ जस्तै पहिलो रोजाइका आधाभन्दा बढी खेलाडीले यस सिजन क्लब छाडेपछि थ्री स्टार पनि केही कमजोर बनेको छ । पहिलो खेलमा जावालखेल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थ्री स्टार पहिलो गोल र जितको खोजीमा छ । थ्री स्टार जस्तै नेपाल पुलिसले पनि पहिलो खेल गोलरहित बराबरी खेलेको थियो हिमालयन शेर्पा क्लबसँग । त्यस्तै पुलिस पनि पहिलो गोल अनि पहिलो जितको खोजीमा छ । कुनै समयमा घरेलु फुटबलमा बाघको छवी बनाएको पुलिस फेरि त्यस्तै बन्न सकेको छैन । अहिले पुलिस उपाधिको दाबेदारभन्दा पनि राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छ ।

सम्बन्धित खवर