क्रेजी साप्ताहिक
बेलबारी । आकर्षक ब्याजको प्रलोभन देखाएर मोरङको बेलबारीका २ सय ५० बढी स्थानीयहरु सँग ९ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरी फरार रहेका बेलबारीका घनश्याम श्रेष्ठलाई प्रहरीले सुनसरीको ईटहरीबाट पक्राउ गरेको छ ।
बेलबारीका ऊँ कृष्ण सुनचाँदी पसल र हार्डबयर पसल सञ्चालन गर्दै आएका उनले ब्याजको प्रलोभन देखाएर स्थानीयको करोडौँ रकम ठगेका थिए । केही महिना अघि नै फरार भएका श्रेष्ठलाई पक्राउ गर्न र रकम फिर्ता गर्न स्थानीयले माग गरेपछि बेलबारी नगरपालिकाको संयोजनमा पिडित र श्रेष्ठकी श्रीमती तारादेबी श्रेष्ठ बिच मंसिर मसान्त सम्म रकम तिर्ने सहमति भएको थियो । मंसिर मसान्त सम्ममा पनि रकम फिर्ता नपाएपछि पिडितहरुले श्रेष्ठको घरमा ४ दिन धर्ना दिनुका साथै श्रेष्ठ परिवारका बिरुद्ध प्रर्दशन गरेका थिए ।
स्थिति जटिल बन्दै गएपछि बेलबारी प्रहरीले सोमबार घनश्यामकी श्रीमती तारादेबीलाई नियन्त्रणमा लिएको थियो । स्थानीयले घनश्याम नआएसम्म तारादेबीलाई घरमै बन्धक बनाउने भन्दै प्रर्दशन थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । श्रेष्ठ पिडितहरुले मातृका पराजुलीको संयोजकतवमा पिडित संघर्ष समिति समेत गठन गरेका छन । मंगलबार ईटहरीबाट श्रेष्ठलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर गुणराज बुढाथोकीले बताएका छन । श्रेष्ठ अनुसन्धानमा रहेको र पिडितहरुले न्याय पाउनुपर्ने भन्दै उनले न्याय मर्न नदिने बताएका छन ।