क्रेजी साप्ताहिक उर्लाबारी । प्रशासन कार्यालय उर्लाबारीले एक जना पुरुषलाई महिला उल्लेख गरेर नागरिकताको प्रतिलिपि दिएको पाइएको छ । साविक वारंगी गाविस–६ हालको लेटांङ भोगटेनी नगरपालिका निवासी मौसम लिम्बूको नागरिकतामा कार्यालयले महिला भनेर उल्लेख गरिदिएपछि उनले गुनासो गरेका छन् ।
काठमाडौंमा अस्थायी रुपमा बसोबास गर्दै आएका लिम्बू नागरिकताको प्रतिलिपका लागि भनेर उर्लाबारी आएका थिए । तर,कार्यालयले महिला भनेर उल्लेख गरेपछि उनी चिन्तित बनेका छन् । उनले भने,‘ हिजो प्रतिलिपि बनाउन भनेर कार्यालयमा आएको थिए । तर राति पुन: एकपटक हेर्दा लिंग महिला भनेर लेखिदिएको रहेछ । यस्तोसम्मको लापारवाही हुँदो रहेछ । ’ लिम्बू बिहीबार बिहानै चिसो छल्दै वारंगीबाट मंगलबारेस्थित कार्यालय आएका छन् । उनले नयाँ नागरिकताको लागि अपिल गर्ने बताएका छन् ।
यस विषयमा इलाका प्रशासन कार्यालयका प्रमुख झलेन्द्र चापगाईले सामन्य मानवीय त्रुटी भएको बताउदै नागरिकतामा भएको त्रुटी तत्कालै सच्याइदिने बताए । उनले भने, ‘ म आइकन यस्तो गल्तीहरु भएको थिएन । नागरिकता दिएपछि एक पटक पढेर र हेरेर लिनुहोला भनेर सूचना पनि टाँसेका छौ । एकैदिन सेवाग्राहीको चाप धेरै नै हुन्छ । कहिलेकाही त्रुटि हुन सक्छ । यो स्वभाविक नै हो । तपाई एक पटक कार्यालयमा आएर नै हेर्नुहोला कतिको चाप छ भनेर । ’
उनले नागरिकतामा भएको त्रुटि तत्कालै सच्चाइदिने बताए । यस्तै,यसअघि सिफारिस भएका नागरिकताहरुमा धेरै नै त्रुटि भएपनि आफू कार्यालयमा आएपछि त्यो समस्या हटेको उनले दाबी गरे ।इलाका प्रशासन कार्यालयमा कार्यालय समयमा कहिले गेम खेल्दै समय व्यतित गर्ने, विचौलियाको बिगबिगी, शौचालयको समस्या,अत्याधिक चाप जस्ता विषयहरु बारम्बार उठ्ने गरेको छ ।