
क्रेजी साप्ताहिक
मोरङ । टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ अन्तर्गत आज (बुधबार) भएको खेलमा १० नवोदय एफ.सी. विजयी भएको छ ।
१० नवोदय र वाई.जी.एफ.टी. बीच भएको खेलमा १–० गोल अन्तरले १० नवोदय विजयी भएको हो । १० नवोदयको लागि खेल सुरु भएको १६ औं मिनेटमा फरवार्ड घनश्यम चौहानले निर्णायक गोल गरेका थिए । पथरीको जाँते मोडमा अवस्थित प्रस्तावित पथरी रंगशालामा भएको खेलमा दुवै टिमले अवसरहरु सदुपयोग गर्न सकेनन् । वाईजीएफटीसँगको खेलको जितसँगै १० नवोदयले लिगमा ६ अंक बनाएको छ । खेलको सोनालिका म्यान अफ द म्याच १० नवोदयका गोलकिपर अर्जुन बस्नेत घोषित भए ।

आजसम्मको खेलमा सिरिजंगा एफसी ६, हिमाअस हाइवेको २ अंक छ भने शिखर र हेरिका न्युस्टार एफसीको १–१ अंक रहेको छ । यस्तै टेन नवोदयको ६, वाईजीएफटी र द रिअल ब्रदर्स एफसीको १–१ अंक रहेको छ । दुई खेल खेल्न बाँकी रहेको देबिगन्ज हालसम्म ० अंक रहेको छ ।

भोलि (बिहिबार) दोस्रो चरणको अन्तिम खेल देबिगन्ज एफ.सी. र द रियल ब्रदर्श बीच प्रतिस्पर्धा हुने आयोजक समितिका संयोजक संजिप गिरीले बताए ।


