
क्रेजी संवाददाता
शिवसताक्षी । मोरङको पथरी फुटबल क्लबलाई १- २ गोल अन्तरले पराजित गर्दै धरान सि.टी. फुटबल क्लब एनी फाक्तेप गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आज (बुधबार) शिवसताक्षी ७ को बालसेवा आधारभूत विद्यालयको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा २४ औं मिनेटमा पथरीका युकेश तामाङले गोलको खाता खोल्दै टिमलाई अघि बढाएका थिए । युकेशले क्याप्टेन साइमन लिम्बुले हानेको कर्नर किकलाई हेड मार्फत् गोलमा परिणत गरेका थिए ।

निक्कै प्रतिस्पर्धात्मक भएको खेलमा धरानका तर्फबाट मन्दिप राईले ३२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । दुवै टिमले राम्रा अवसरहरु प्राप्त गरिरहेका थिए । खेलको ६८ औं मिनेटमा धरान सिटीका विवेक राईले फ्रिकिक मार्फत् उत्कृष्ट गोल गर्दै धरानलाई विजयी गराए ।
पहिलो हाफको खेलमा धरानका विष्णु सुनुवारले गरेको निक्कै राम्रा प्रहार पथरीका गोलकिपर अर्जुन बस्नेतले पन्च गरेर गोल हुनबाट विफल तुल्याएका थिए । यस्तै पथरीका क्याप्टेन साइन लिम्बुले निक्कै तोडका साथ गरेको प्रहारलाई धरानका गोलकिपर आशिष कार्कीले पन्च गरी आउट गरेका थिए ।

आजको खेलको म्यान अफ द म्याच धरान सिटीका फरवार्ड विवेक राई घोषित भए । भोलिको दोस्रो सेमिफाइनल खेल तुर्केनी युथ क्लब काँकडभिटा र जलथल एफ.सी. हल्दीबारी बीच हुने आयोजकले जनाएको छ ।

