
क्रेजी संवाददाता
शिवसताक्षी । तुर्केनी फुटबल क्लब काँकडभिट्टाले प्रथम एनी फाक्तेप गोल्डकपको दोस्रो सेमिफाइनल खेलको विजयी हुँदै फाइनलमा धरान सि.टी.सँगको भेट पक्का गरेको छ ।
तीन विदेशी खेलाडी सहित मैदान उत्रिएको काँकडभिट्टाले जलथल फुटबल क्लब हल्दीबारीलाई ६–१ को विशाल गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।
आज (विहिबार) भएको दोस्रो सेमिफाइनल खेलमा काँकडभिट्टाको तर्फबाट खेलको पहिलो हाफको १५ औं मिनेटमा मिलन लिम्बुले गोलको खाता खोलेका थिए । यस्तैगरी २२ औं मिनेटमा विदेशी खेलाडी सोह्वील र २५ औं मिनेटमा योगेश गुरुङले एक–एक गरे ।

काँडभिट्टाले जलथललाई पहिलो हाफमा निक्कै नै दबाबमा राखेको थियो । यस्तै खेलको दोस्रो हाफको ५१ औं मिनेटमा अफ्रिकन खेलाडी योमीले गोल गरे, त्यसपछि खेलको ६९ औं मिनेटमा पुनः मिलन राई गोल थपे। निक्कै नै उत्कृष्टक खेल प्रदर्शन गरेको काँकडभिट्टाले गोल थप्ने कार्यलाई निरन्तर अघि बढाइ नै रहयो मिलन गुरुङ ७२ औं मिनेटमा गोल गरे । यस्तै जलथलका तर्फबाट सरोज कार्कीले ६७ औं मिनेटमा एक मात्र सान्तवना गोल गरे ।

खेलको म्यान अफ द म्याच विजेता टिमका विदेशी खेलाडी अबयोमी फकुन्ले घोषित भए । उनलाई प्रतियोगिताको मुख्य प्रायोजक एनी ब्राण्डका प्रमुख सन्तोष थोप्राले ट्रफी, मेडल र नगद प्रदान गरेका थिए ।
प्रतियोगिताको फाइनल खेल शनिबार धरान सि.टी. फुटबल क्लब र आजको विजेता तुर्केनी फुटबल क्लब काँकडभिट्टा बीच हुने आयोजकका अनिल लिम्बुले जानकारी दिए ।

