पथरीशनिश्चरे फुटबल प्रिमियर लिग आयोजकद्वारा इन्ट्रा फाउण्डेशनलाई भव्य स्वागत - Crazysaptahik.com

पथरीशनिश्चरे फुटबल प्रिमियर लिग आयोजकद्वारा इन्ट्रा फाउण्डेशनलाई भव्य स्वागत

क्रेजी संवाददाता
पथरीशनिश्चरे । विहिबार साँझ अगाडि अगाडि च्याब्रुङ टिम, बाजागाजा अनि साकेला टोली, अनि केही खेलाडीहरुका साथ पथरी बजारमा विशिष्ट व्यक्तिहरुको आगमन अनि ‘वार्म वेलकम’ लेखिएको ब्यानर देखियो । सबै जना छक्क पर्दै आश्चर्य मान्दै हेरिरहेका थिए ।

हो सोही दृश्य थियो मोरङको पथरीशनिश्चरे नगरमा स्थापित फुटबल प्रिमियर लिगको आयोजक समितिले अमेरिकामा स्थापित नेपाली भाषीहरुले स्थापना गरेको इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको टोलीलाई स्वागत कार्यक्रम ।

स्थानीय खेलाडी उत्पादन गर्ने हेतुले पथरीशनिश्चरे फुटबल प्रिमियर लिग आयोजक समितिले गत वर्षदेखि लिग फुटबल आयोजना गर्दै आइरहेको छ । इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसनले विषेश गरी नेपालमा लामो समय शरणार्थीको रुपमा बसेर तेस्रो राष्ट्र पुर्नबास गएर बसेका नेपाली भाषीहरुले स्थापना गरेको संस्था हो । संस्थाले अमेरिका र नेपालका असाहय, अपाङ्गता तथा खेलकुद क्षेत्र विकासको लागि सहयोग गर्दै आएको छ ।

फाउण्डेशनका अध्यक्ष डिल्लीराम अधिकारी लगायतको टोली केही हप्ता अघिदेखि नेपाल आएका छन् । फाउण्डेशनले भुटानी शरणार्थी विद्यार्थीहरु अध्ययन गर्दै आएको पथरी शनिश्चरे नगरको पञ्चायत मावि र हिरक आधारभूत विद्यालयमा केही शिक्षक सहयोग गर्दै आएको छ ।

नेपाल आएको अवसरमा फाउण्डेशनका अध्यक्ष अधिकारीको टोलीलाई पथरी शनिश्चरे फुटबल प्रिमियर लिग आयोजक समितिले स्वागत गरेको हो । पथरीशनिश्चरे २ को शीनभिलेज पार्टी प्यालेसमा खाँदा, फुलमाला, झाँकीको साथमा केक काटेर टोलीलाई स्वागतको साथमा उत्सव मनाएका थिए । अमेरिका, नेपालको झण्डा र फुटबलको नक्सा रहेको केक ३८ हजारमा बनाइएको आयोजक समितिको कोषाध्यक्ष श्रीहाङ राईले जनाए ।

स्वागत कार्यक्रममा पथरीशनिश्चरे नगर उपप्रमुख यमुना बिष्ट, पथरी उद्योग वाणिज्य संघको अध्यक्ष धनकुमार तामाङ, पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकी, सुनखारी माविका प्रअ इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्का लगायतको उस्थिति रहेको थियो । कार्यक्रममा उपप्रमुख बिष्ट, प्रअ बुढाथोकी लगायतले स्वागत मन्तब्य राखेका थिए ।

आयोजक समितिको अध्यक्ष संजिव गिरी र सचिव मणि लिम्बूले फाउण्डेशनलाई नगरको फुटबल बिकासको लागि लिगलाई सहयोग गर्न फाउण्डेशन टोलीसँग अनुरोध गरेका थिए । फाउण्डेशनका अध्यक्ष डिल्लिराम अधिकारीले आउने सिजनदेखि प्रिमियर लिगलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । अधिकारीले अमेरिकामा बर्षमा छ भन्दा बढी फुटबल लिग, भलिबल र क्रिकेटलाई सहयोग गर्दै आएको बताएका थिए । फाउण्डेशनले झापाको बेलडाँगी शरणार्थी शिविरमा बृद्ध आश्राम समेत स्थापना गरेको छ ।

सो कार्यक्रमका सभापति पथरीशनिश्चरे प्रिमियर लिगका संयोजक संजिव गिरीले अबको प्रिमियर लिगको लागि इन्ट्रासँग आशा राखेको र सम्पूर्ण खेलको लागि इन्ट्रा मुख्य टाइटल रहने पनि जानकारी गराए ।

सम्बन्धित खवर