
सहिद स्मारक ए डिभिजन लिगमा शनिबार भएको खेलमा च्यासल युथ क्लब र एनआरटीले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । दोस्रो हाफमा तनावपूर्ण बनेको खेलमा एनआरटीले एक गोलले पछि परेर बराबरी गोल फर्काएको हो । पहिलो हाफमा एनआरटीले खृलमा दबाब बनाएपनि च्यासलले अग्रता लिएको थियो ।
खेलको ४३औं मिनेटमा रुमेश बर्ताैलाले गोल गर्दै च्यासललाई अग्रता दिलाए । कमल श्रेष्ठको कर्नरमा एनआरटीका खेलाडीले बल क्लियर गर्न नसकेपछि रुमेशले भलिमार्फत गोल गरे । पहिलो हाफमा २१औं मिनेटमा एनआरटीका दर्शन गुरुङले अशोक थापाको क्रसमा ट्याप इन गर्न नसक्दा अग्रता लिन बाट अवसर गुमाएको थियो । दोस्रो हाफमा एनआरटीले बराबरी गोल फर्कायो ।
७८ औं मिनेटमा दीपेश आलेले एनआरटीका लागि बराबरी गोल फर्काए । उनले मैदान प्रवेश गरे लगत्तै गोल गरे । यसमा उनीसँगै मैदान प्रवेश गरेका अर्का खेलाडी रन्जन विष्टको पनि योगदान रह्यो । त्यसपछि भने च्यासलका खेलाडीले रेफ्रीको निर्णयमा असन्तुष्टी जनाउन थाले ।
त्यसपछि खेलमा तनाव उत्पन्न हुन थाल्यो । दुवै टनेलीका खेलाडीहरुले नाटकिय व्यवहार गर्न थाले । त्यसपछि गोल भएन र दुवै टिमले १–१ अंक बाँडे । च्यासलले ३ खेलबाट ४ अंक जोडेको छ । उता एनआरटीले भने लगातार दोसो बराबरीपछि ३ खेलबाट २ अंक जोडेको छ ।
एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले शनिबारको खेल राम्रो खेलेपनि समयमा स्कोर नहुँदा ३ अंक लिने लक्ष्य पूरा नभएको र एक अंकमा चित्त बुझाउनुपरेको बताए । उता च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले टिमको प्रदर्शनबाट सन्तुष्ट भएको र फरवार्ड लनइनमा अझ सुधार गर्नुपर्ने बताए । एनआरटीले फेयर प्लेको अवस्थालाई बिगार्दा मैदानमा नदेखिनुपर्ने सिन देखिएको उनले बताए ।


