लिगको पहिलो ह्याट्रिक मार्टिन्सको नाममा, सातदोबाटो शीर्ष स्थानमा - Crazysaptahik.com

लिगको पहिलो ह्याट्रिक मार्टिन्सको नाममा, सातदोबाटो शीर्ष स्थानमा

नाइजेरियन खेलाडी अजयी मार्टिन्सले शहीद स्मारक ए डिभिजन लिगमा यस सिजनको पहिलो ह्याट्रिक गरेपछि नवप्रवेशी सातदोबाटो युथ क्लबले शुक्रबार एपीएफ फुटबल क्लबलाई ४–१ ले पराजित गरेको छ । पहिलो पटक ए डिभिजन लिग खेलिरहेको सातदोबाटो शुक्रबारको शानदार जितपछि ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा समेत उक्लिएको छ ।

पहिलो खेलमा फ्रेण्ड्ससंग बराबरी खेलेको सातदोबाटोले दोस्रो खेलमा थ्री स्टारलाई पराजित गरेको थियो । उता लगातार तीन खेलमा पराजित भएको एपीएफ अंकविहीन हुँदै पुछारमा छ । सातदोबाटोको जितमा मार्टिन्सले ह्याट्रिक गर्दा सुशील राईले एक गोल गरे । एपीएफका लागि बिकी तामाङले एक गोल फर्काए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा वर्षाकै बीच भएको खेलको पहिलो हाफमा मार्टिनले दुई गोल गरेका थिए । उनले ४२ औं मिनेट र इन्जुरी टाइममा गोल गरेका थिए । पहिलो हाफमा दुई गोलले पछि परेको एपीएफले दोस्रो हाफको सुरुआतमै गोल फर्कायो ।

४७ औं मिनेटमा एपीएफका आशिष लामाको पासमा बिकीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । तर ५० औं मिनेटमा निरज चौधरीको पासमा सुशीलले गोल गर्दै सातदोबाटोलाई ३–१ को अग्रता दिलाए ।   ५८ औं मिनेटमा मार्टिनले गोल गर्दै ह्याट्रिक पूरा गर्दा सातदोबाटोले ४–१ को अग्रता बनायो र त्यही अग्रता कायम राख्दै विजयी भयो । जारी लिगमा एकै खेलमा ५ गोल भएको यो दोस्रो खेल हो । यसअघि पहिलो चरणमा ब्रिगेड ब्वाइज र एपीएफबीचकै खेलमा ५ गोल हादा एपीएफ ३–२ ले पराजित भएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.