क्रेजी संवाददाता
मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा स्थापित हरियाली सामुदायिक पब्लिक कम्पनीले दोस्रो साधारणसभा सम्पन्न गरेको छ । पर्यापर्यटन क्षेत्रमा आगामी नव वर्ष २०८९ देखि पर्यटक भित्राउने योजना स्वीकृत भएको छ ।
पब्लिक लिमिटेडले सोमबार आयोजना गरेको साधारणसभाले आगामी २०७९ वैशाख १ बाट आन्तरिक पर्यटकहरुको लागि खुल्ला गर्ने निर्णय भएको हो । साधारणसभामा पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई (किशोर)ले हरियाली सामुदायिक वनमा निर्माण हुन लागेको पर्यटन क्षेत्रले नगरमा सबैभन्दा ठूलो आम्दानीको स्रोत बन्ने बताए । बिदेश भ्रमणमा जाँदा बिग बुद्ध लगायत र पूर्वी नेपालको विभिन्न स्थान घुमेको अनुभव सुनाउँदै हरियालीमा बन्न लागेको पर्यटन क्षेत्रको उच्च संभावना रहेको सुनाए ।
सभामा हरियाली पब्लिक लिमिटेडका अध्यक्ष अशोककुमार राईले वार्षिक प्रगति र भावी कार्ययोजना पेस गरेका थिए । शेयरधनीबाट संकलन भएको रकम र संघीय सरकार संस्कृति, पर्यटन नागरिक उड्ययान मन्त्रालयबाट परेको दुबै गरी ४ करोड १६ लाखको लागतमा स्वीमिङ पुल, शौचालय, बोटिङ पोखरी, प्रवेशद्वार, सुरक्षाको लागि प्रहरी बिट लगायतको १२ प्रकारको भौतिक संरचना निर्माण भइरहेको छ । सो रकम घटाघटमा वल्र्ड वाईड कोशी शिवालय जेभी काठमाडौंले टेन्डर पारेर संरचना निर्माण भइरहेको छ ।
कार्यक्रममा शेयरधनीहरुले आम्दानी हुने काम तुरुन्त सुरु गर्न माग गरेपछि काम तिव्र रुपमा गराएर आगामी नयाँ बर्षमा पर्यटकको लागि खुल्ला गर्ने लक्ष्य सहित कम्पनी अघि बढ्ने अध्यक्ष अशोककुमार राईले बताए ।
कम्पनीका सदस्य काशीहाङ राईले सञ्चालन गरेको साधारणसभामा हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष काबुलबहादुर मगर, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ, ३ नं. वडा अध्यक्ष डम्बर चेम्जोङ, कम्पनीको पूर्व निवर्तमान अध्यक्ष तथा हरियाली सामुदायिक वनका सल्लाहकार अध्यक्ष देवी भेटवाल लगायतले शुकामना मन्तव्य राखेका थिए ।
यस कम्पनीमा ८ यस ६१ जना शेयर सदस्यहरु रहेका छन् । २० करोड अधिकृत पुँजी रहेको कम्पनीले पहिलो किस्ता १ करोड संकलन गरी पर्यापर्यटन क्षेत्र विकासमा लागेको हो ।शेयरधनीहरूबाट आवश्यकता अनुसार पाँच किस्तामा रकम संकलन गर्ने योजना बनाइएको छ । पहिलो किस्ताबाट काम भइसक्न लागेकोले दोस्रो किस्ता संकलन गर्न प्रक्रिया सुरु गरिने कम्पनी संचालक समितिका सदस्य गणेश कुमार राईले जानकारी दिए ।