एकीकृत समाजवादी जनताको लोकप्रिय पार्टी हुनेछ – अध्यक्ष नेपाल - Crazysaptahik.com

एकीकृत समाजवादी जनताको लोकप्रिय पार्टी हुनेछ – अध्यक्ष नेपाल

क्रेजी संवाददाता
दमक । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको सुदृढीकरण र संघीयता रक्षा गर्न राजनीतिक दल बीच गठबन्धन निर्माण भएको प्रष्ट पानुभएको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र अन्तर्गत दमकमा आयोजित प्रदेशस्तरीय खेलकुद कार्यक्रमलाई सम्बोधनका क्रममा उनले ओलीको अहंमताका कारण कम्यूनिष्ट पार्टी विभाजित हुन पुगेकाले अबको निर्वाचनमा एकीकृत समाजवादी जनताको लोकप्रिय पार्टीका रुपमा स्थापित हुने दावी गर्नुभयो ।

गठबन्धनमा कुनै समस्या नदेखिएको बताउदै उनले लोकतन्त्र, धर्म निरपेक्ष, गणतन्त्रको रक्षा गर्न सत्तारुढ दलहरू बीच आगामी निर्वाचनसम्म दलीय गठबन्धन कायम रहने जोड दिए । पार्टी सम्बद्ध नेपाल खेलकुद महासंघ समाजवादीले सोमबार दमकमा आयोजनामा गरेको प्रदेशस्तरीय खेलकूद तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष नेपालले भन्नुभयो–‘सवै निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धनले झन सफलता हासिल गर्नेछ, त्यसमा दुविधा छैन ।’

सो कार्यक्रममा पार्टीका १ नम्बर प्रदेश कमिटीका अध्यक्ष समेत रहेका प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र राईले लोकतन्त्र, संघीयताको कार्यान्वयन गर्दे देशलाई समृद्धि तर्फ लैजान देशको साझा चुनौती भएको उल्लेख गर्नुभयो ।

त्यस्तै, पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले एमाले कम्यूनिष्टको नाममा पलायन तर्फ उन्मुख भएकाले त्यसको बिकल्पमा देशभक्ति कम्यूनिष्टका एकता निर्माण गर्ने लक्ष्यका साथ एकीकृत समाजवादी जनताका बीचमा आएको जोड दिनुभयो ।

१ नम्बर प्रदेश अन्तर्गतका १४ जिल्लाबाट विभिन्न बिधाका खेलाडीहरु सहित पार्टी कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रीय अध्यक्ष केशव बहादुर विष्ट लगायतले सम्बोधन गर्नुभएको थियो ।

पार्टीका दमक नगर कमिटी अध्यक्ष महेश घिमिरेले सञ्चालन गरेको सो कार्यक्रममा प्रदेश इञ्चार्ज हंसराज वाग्लेले स्वागत मन्तव्य राखेका थिए भने सो अवसरमा विभिन्न बिधाका खेलाडीहरुले खेलको नमुना प्रस्तुत गरेका थिए ।

सो अवसरमा खेलकुदको व्यवसायिक बिकास, राष्ट्रिय खेलकुद नीति, खेल क्षेत्रका सम्भावना र चुनौतीहरुका बिषयमा पनि प्रशिक्षण सञ्चालन भएको एकीकृत समाजवादीका जिल्ला प्रचार विभाग प्रमुख तिर्थ सिग्देलले जानकारी गराउनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.