ए डिभिजन लिगमा सातदोबाटोको पहिलो हार - Crazysaptahik.com

ए डिभिजन लिगमा सातदोबाटोको पहिलो हार

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा एनआरटीले सातदोबाटो युथ क्लललाई १–० ले पराजित गर्दै सिजनको पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीको जितमा स्टेफन समीरले निर्णायक गोल गरे ।

नवप्रवेशी सातदोबाटोको भने शीर्ष डिभिजनमा यो पहिलो हार हो । खेलको सुरुवातदेखि नै लगातार दबाव बनाएपनि गोल भने गर्न सकेन । खेलको १३ औं मिनेटमा सातदोबाटोका कप्तान मानबहादुर तामाङको क्रसमा निरज चौधरीको हेड बल एनआरटीका गोलकिपर अजित प्रजापतिले बचाए ।

त्यसपछि सातदोबाटोले दबाव बनाइराख्यो । तर गोल गर्न सकेन । पहिलो हाफको अन्तिम दश मिनेटमा एनआरटीले दबाव बनायो । ३९ औं मिनेटमा एनआरटीका सरोज तामाङले पेनाल्टी बक्सबाट हानेको बल सातदोबाटोका पिटर सेगुनले बचाए ।

यस्तै ४४ औं मिनेटमा एनआरटीका स्टेफन समिरको प्रहार सातदोबाटोका कप्तान मानबहादुर तामाङले गोललाइन अघिबाट बचाए । पहिलो हाफको इन्जुरी टाइममा सरोज तामाङको क्रममा स्टेफेन समिरको हेडर पोष्टमाथिबाट बाहिरिएको थियो ।

लगातार आक्रमण बनाएका स्टेफेनले दोस्रो हाफको पहिलो मिनेटमै गोल गर्दै एनआरटीलाई अग्रता दिलाए । दोस्रो हाफ सुरु भएको १२ सेकेण्डमै उनले मेसुके ओलोमोउको पासमा गोल गरे ।

५९ औं मिनेटमा स्टेफेन समिरले पेनाल्टी बक्स भित्रबाट हानेको बल सातदोबाटोका गोलकिपर अभिषेक बरालले पन्च गर्दै बचाएका थिए । यस्तै ६५ औं मिनेटमा एनआरटीका दर्शन गुरुङले वान भर्सेस वानको स्थितिमा गोल गर्न सकेनन् र उनको सट अभिषेक बरालले बचाए ।

लगातार आक्रमण गरेको एनआरटीका लागि ६७ औं मिनेटमा दिपेश घलेले करिब २५ यार्डबाट हानेको प्रहार पोष्टमाथिबाट बाहिरियो । दोस्रो हाफमा सातदोबाटोले ८५ औं मिनेटमा अवसर बनाएपनि गोल हुन सकेन ।

निरज चौधरीको पासमा पेनाल्टी बक्समा रहेका आशिष राईको प्रहार फितलो रह्यो । पहिलो जितपछि एनआरटी ४ खेलबाट ५ अंक जोडेर एनआरटी सातौ स्थानमा उक्लेको छ ।

सातदोबाटो ४ खेलबाट ७ अंकसहित तेस्रो स्थानमा छ । पहिलो जितपछि एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले खुशी व्यक्त गरे । ‘खुशी छु ३ अंक महत्वपूर्ण थियो । सुरुमा दुःख दियो । पछि ४–४–२ खेलेपछि सफल भयो’ शाक्यले भने ।

यस्तै पहिलो हारपछि मेघराज केसीले यसअघिका खेलमा जस्तो आज खेल्न नसकेको बताए । ‘आज विगतको गेमको पेस स्लो देखियो । मिस पास भयो । एनआरटीले राम्रो खेल्यो । लास्टमा गेम ड्र गर्ने अवसर थियो मिस भयो । हामीले अझै मिहिनेत गर्नुपर्छ ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.