हिमालयन शेर्पालाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा - Crazysaptahik.com

हिमालयन शेर्पालाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

साविक विजेता मछिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ । शनिबार भएको दोस्रो खेलमा मछिन्द्रले हिमालयन शेर्पालाई ३–० ले हरायो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रका लागि सुनील बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ती मगरले गोल गरे ।

खेलको सुरुवातदेखि नै आक्रमण बनाएको मछिन्द्र ११ औं मिनेटमा गोलनजिक पुगेको थियो । नुर्लानले पेनाल्टी बक्सभित्रबाट वान भर्सेस वानको स्थितिमा प्रहार गरेको बलमा क्रस बारमा लाग्दा मछिन्द्र अग्रता लिनबाट बञ्चित रह्यो ।

२२ औं मिनेटमा मछिन्द्रका सुनील बलको फ्रिकिक प्रहार हिमालयन शेर्पाका गोलकिपर दीप कार्कीले बचाए । तर २९ औं मिनेटमा सुनीलले करिम ओमालाको फ्रिकिकमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए ।

हिमालयन शेर्पाका गोलकिपर दीप अघि बढेको मौकामा सुनीलले गोल गरेका थिए । पहिलो खेलमै एनआरटी विरुद्ध दुई गोल गरेका सुनीलले लिगमा गरेको यो तेस्रो गोल हो ।

४७ औं मिनेटमा हिमालयन शेर्पाका सुरेश कुमालको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले पन्च गर्दै बचाएका थिए । दोस्रो हाफमा मछिन्द्रले दुई गोल थप्यो । ६७ औं मिनेटमा नुर्लानले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे ।

विशाल राईको कर्नरमा पेनाल्टी बक्समा रहेका नुर्लानले गोल गरे । पहिलो पटक ए डिभिजन लिग खेलिरहेका अजरवैजानी खेलाडी नुर्लानको यो पहिलो गोल हो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका विमल घर्ती मगरले इन्जुरी टाइममा आन्द्रेस नियाको पासमा गोल गरे ।

जारी लिगमा विमलको यो पहिलो गोल हो । चार खेलमा तीन खेल जितेको मछिन्द्र १० अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ । मनाङ मर्स्याङ्दी समान अंक भएपनि मछिन्द्र गोलअन्तरमा अघि रहेको हो । दोस्रो हारपछि ४ खेलबाट २ अंक मात्र रहेको हिमालयन शेर्पा १२औं स्थानमा झरेको छ र रेलिगेसन जोनबाट अलिकति माथि छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.