सीता आदर्श विद्यालयमा शिक्षक स्वागत, विदाई र सम्मान कार्यक्रम - Crazysaptahik.com

सीता आदर्श विद्यालयमा शिक्षक स्वागत, विदाई र सम्मान कार्यक्रम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले नगरका सामुदायिक विद्यालयहरुले पनि अंग्रेजी माध्यम अपनाएर गुणस्तरीय शिक्षण सिकाई क्रियाकलाप अघि बढाउँदै लान थालेको बताउनुभएको छ ।

प्रमुख अतिथि वास्तोलाले बुधबार वडा नम्बर ९ मा अवस्थित सीता आदर्श आधारभूत विद्यालयमा शिक्षक सरोज तिम्सिनाको स्वागत, जंगबहादुर कार्की (भरत) को विदाई र विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष एवम जग्गादाता सन्तोष कठायतको सम्मान कार्यक्रममा सो कुरा बताउनु भएको हो ।

उहाँले कक्षा–५ सम्मको सीता आदर्शले समेत अंग्रेजी माध्यम अघि बढाई गुणस्तरीय शिक्षामा जोड दिएको प्रसंग सहित सवै सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यममा गुणस्तरीय शिक्षा अघि बढाउनु आजको आवश्यकता रहेको बताउनुभयो । नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि सक्दो सहयोग पुर्याउने समेत जनाउनुभयो ।

सो अवसरमा, वडा सदस्य कुरुक्षेत्र नेपाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष ललिता कार्की, नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल, जग्गादाता सन्तोष कठायत, शिक्षक जंगबहादुर कार्की, सरोज तिम्सिना, पूर्व शिक्षक चन्द्रकान्त भट्टराई समाजसेवी शान्तिराम खड्का र फडिन्द्र कार्कीले मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । सो अवसरमा अवकासप्राप्त शिक्षक कार्कीले विद्यालयका लागि ३० हजार १ सय ५ रुपैयाँ प्रदान गर्नुभयो भनें स्थानीय निर्मल पोखरेलले आफ्ना पीता रेवतीको स्मृतिमा ३० हजार १ सय १ रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभएको प्रधानाध्यापक रीता धिमालले जनाउनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.