ओमिक्रोनको संक्रमण बढेपछि मुम्बईमा निषेधाज्ञा - Crazysaptahik.com

ओमिक्रोनको संक्रमण बढेपछि मुम्बईमा निषेधाज्ञा

काठमाडौं । एकैदिन ७ जनामा ओमिक्रोन संक्रमण फेला परेपछि भारतको आर्थिक राजधानी मुम्बईमा २ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । मुम्बईमा बुधबार ७ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टी भएको थियो ।

बिहिबार (आज)देखि डिसेम्बर ३१ सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको मुम्बई प्रहरीले बताएको हो । कोरोना भाइरसलाई फैलिनबाट रोक्न भन्दै फौजदारी कानुन ‘क्रिमिनल प्रोसिजर कोड’को खण्ड १४४ बमोजिम डिसेम्बर १६ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

बिहीबारदेखि लागू हुने निषेधाज्ञाभर ठूला जमघट गर्न पाइने छैन भने सार्वजनिक भेटघाटमा ५ जनाभन्दा बढी मानिस सहभागी हुन बन्देज लगाइएको छ । त्यस्तै, कुनै पनि समारोह वा कार्यक्रम गर्दा कार्यक्रम स्थलको ५० प्रतिशत क्षमता अनुसार मानिसहरू सहभागी गराउनुपर्ने र आयोजकले पूर्ण कोरोना खोप लगाएको हुनुपर्ने छ ।

यसबाहेक, पसल, मल, समारोह वा जमघटमा सहभागी मानिसले पूर्ण खोप लगाएको हुनुपर्ने छ । सार्वजनिक सवारीमा यात्रा गर्ने मानिसले समेत पूर्ण खोप लगाएको हुनुपर्ने छ । साथै, महाराष्ट्रमा आउने मानिसले समेत पूर्ण खोप लगाएको हुनुपर्ने र ७२ घण्टाभित्रको नेगेटिभ पीसीआर रिपोर्ट देखाउनुपर्ने छ ।

कोभिडसम्बन्धी नियम पालना नगर्नेलाई कडा कारबाही गरिने प्रहरीले बताएको छ । ‘मानिसले कोभिड–१९ का सम्बन्धमा उपयुक्त व्यवहार नगरेको खण्डमा कारबाही गर्ने छौं’, प्रहरी निरीक्षक नासिर कुलकर्नीले भने, ‘हामीले मानिसहरूलाई मास्क लगाउन भनेका छौं ।’ भारतमा अहिलेसम्म ७३ जनामा ओमिक्रोन पुष्टि भइसकेको छ । जसमध्ये महाराष्ट्रमा माात्रै ३२ जना छन् ।

सम्बन्धित खवर