
क्रेजी संवाददाता
शिवसताक्षी । झापाको शिवसताक्षीमा अवस्थित दूधेमा चासोक तङ्नाम २०७८ भव्य रुपमा मनाइएको छ । किराँत याक्थुङ चुम्लुङ शिवसताक्षीले निर्माणाधीन दुधे रंगशालामा चासोक तङ्नाम भव्य रुपमा मनाएको हो ।

आज चासोक तङ्नामको उद्घाटन शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्मा दिप प्रज्वलन गरी गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै मेयर सेर्माले चासोक तङ्नाम लिम्बु जातिहरुको साँस्कृति पर्व भएकाले यसले समाजका सबै जातजातिलाई एकताको सुत्रमा बाँध्ने सुझाए ।

लिम्बु जातिले प्राचीन कालदेखि नै अन्नबाली पाकेपछि भित्राउनु अघि इष्ट देवता र पितृहरुको पूजाआजा गरी नयाँ अन्नबाली अर्पण गर्ने प्रचलन रहेको छ । त्यस्तै लिम्बु भाषामा चासोकको अर्थ नयाँ पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरा निङवाभुमाङ (प्रकृतिदेवी) लाई अर्पण गरिने चलन रहेको अध्यक्ष विरबल जवेगुले जानकारी दिए ।
यस्तैगरी नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेवेले बहुसाँस्कृतिक चाडको रुपमा मानिएको चासोक तङ्नाममा सरकारले विदा दिएर राष्ट्रिय चाडको मान्यता दिएको बताए ।
चासोकमा खेलहरु छेलो, धनुष्काड लगायत र बाजाहरु केलाुङ नृत्य, कोममिक्ला, फाक्वा, मुक्साङ, फामुक, नागारा, केसाङ, सिर्बोङ, फेन्जे, तुङगेवा आदि प्रदर्शनी गरिएको थियो । लिम्बु जातिका भेषभुषामा सजिएका पुरुष तथा महिलाहरुले पालन गीतमा धाननाच प्रस्तुत गरेका थिए । औपचारिक कार्यक्रम अन्य खेलहरु सकिए पश्चात गायिका मेलिना राईको प्रस्तुतिले सबैको मन जितेको थियो ।


