
क्रेजी संवाददाता
शिवसताक्षी । आइतबार झापाको शिवसताक्षीमा अवस्थित दूधेमा भएको चासोक तङ्नाम -२०७८ मा गायिका मेलिना राईले धमाका मच्चाएकी छिन् ।
किराँत याक्थुङ चुम्लुङ शिवसताक्षीले आयोजना गरेको सो कार्यक्रममा खैरो लङकोटमा सजिएकी मेलिना साँझपख स्टेजमा उक्लिएकी थिइन् । उनले सुरुवातमा लिम्बु गीत गुनगनाइन् र दर्शकहरुलाई सम्वोधन गरिन् ।

त्यसपश्चात् उनले आफूलाई परिचित गराउने गीत ‘कम्मर माथि पटुकी …’ गुनगुनाउँदै म्यूजिक ट्याक बजाइदिन आग्रह गर्दै ‘असारे महिना …’ बाट आफ्नो प्रस्तुति सुरु गरेकी थिइन् । त्यसपछि ‘कुटुमा कुटु…’, ‘चरा जस्तै उड्न पाए …’, ‘तातो गोली …’, ‘कसरी कसरी …’, ‘माया बिरानी …’ लगायत दर्जन बढी गीत पस्केकी मेलिनालाई हजारौंको संख्यामा उपस्थित दर्शकहरुले सँगसँगै गीत गाएर साथ दिएका थिए ।
स्टेजमा आफ्नो प्रस्तुतिसँगै असिन पसिन भएकी मेलिनाले प्रस्तुतिकै क्रममा लकडाउनले सबैलाई गाह्रो पारेकी सुनाउँदै आफू पनि अलि अल्सी र मोटाएकी सुनाइन् । उनले नगाँ गीतहरुको शब्द हेर्दै गीत गाएकी थिइन् भने ३ वटा गीतको केही ठाउँमा ट्याक मिस गरिन् । उनले ट्याक मिस गर्ने बित्तिकै माइक दर्शकतिर सोझाएकी थिइन् ।

मेलिनाको प्रस्तुति पश्चात् स्थानीय व्याण्ड र कलाकारहरुले आ आफ्नो प्रस्तुति दिएका थिए । चासोकको रौनक बेलुका ९ बजेसम्म सञ्चालन भएको प्रसार प्रसार प्रमुख सेलिङ केसीले जानकारी दिए ।

