क्रेजी संवाददाता
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका उपसचिव एवं शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेले समय सुहाउँदो विषयमा अध्यापन गराई गुणस्तरीय जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।
काफ्लेले आज वडा नम्बर २ मा अवस्थित रेडस्टार बोर्डिङ स्कुलले आयोजना गरेको कक्षा ११ का विद्यार्थीका लागि स्वागत कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै व्यवस्थापन विषयमा रेडस्टारले गरेको प्रगतिप्रति प्रशंसा गर्ने क्रममा सो कुरा बताउनुभएको हो ।
बाक्लै शिक्षण संस्था भएका क्षेत्रमा प्रत्येक शिक्षण संस्थाले फरक फरक संकाय संचालन गरी प्रभावकारी रुपमा समय सान्दर्भिक गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल टीएन तिम्सिनाले विद्यालयको नयाँ व्यवस्थापनमार्फत व्यवस्थापन संकायमा प्रदेशमै राम्रो नतिजा ल्याएर विद्यार्थी उत्तीर्ण गराउन सफल भएको उल्लेख गर्नुभयो । उहाँले पाठ्यपुस्तकसँगै जीवनमा आवश्यक सिकाई विद्यालयले प्रदान गर्ने गरेको वताउनुभयो ।
कार्यक्रममा, कक्षा १२ का विद्यार्थीले ११ का विद्यार्थीलाई स्वागत गरेका थिए । सो अवसरमा साँस्कृतिक प्रस्तुतिहरु भएका थिए ।