नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाल नफर्कने सङ्केत दिएका छन् । मुख्य प्रशिक्षकलाई नेपालको खस्किँदो प्रदर्शनको बारेमा प्रश्न गर्दा उनले चित्त बुझ्दो जवाफ नफर्काएसँगै उनले नेपाल फर्कने कुरामा शङ्का भएको नेपाल क्रिकेट संघ (क्यान)का एक पदाधिकारीका बताए ।
प्रभाकर छुट्टीका लागि भनेर आज भारत फर्कन लागेका छन् । क्यानले भने यो विषयमा आधिकारिक धारणा छिटै निकाल्ने बताएको छ । क्यानका सदस्य दुर्गा पाठकले क्यानले छिट्टै नै यो विषयमा आधिकारिक धारणा निकाल्ने बताए ।
‘आधिकारिक कुरा नआउँदा यो कुरालाई हामीले केही भन्न मिल्दैन । प्रशिक्षक प्रभाकरले पनि आउने–नआउने विषयमा आधिकारिक धारणा दिनेछन् । अहिले उनी बिदामा छन्,’ पाठकले भने ।
तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको थियो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरेको थियो ।