पछिल्लोपटक अर्जेन्टिना र क्रोएसिया विश्वकपमा भेट्दा के भएको थियो ? - Crazysaptahik.com

पछिल्लोपटक अर्जेन्टिना र क्रोएसिया विश्वकपमा भेट्दा के भएको थियो ?

कतारमा जारी विश्वकपको फाइनलमा स्थान बनाउनका लागि आज अर्जेन्टिना र क्रोएसिया आमानेसामने हुँदैछन् । यसअघि गत विश्वकपको समूह चरणमा दुई टोली भिडेका थिए । त्यतिबेला विश्वकपको फाइनलसम्म पुगेको क्रोएसियासँग अर्जेन्टिना ३–० गोलले पराजित भएको थियो ।

अर्जेन्टिनाका गोलकपिर विली काबालेरोले गल्ती गर्दा क्रोएसिया जीत हासिल गर्दै अन्तिम १६ मा पुगेको थियो भने अर्जेन्टिना समूह चरणबाट नै बाहिरिने निकट पुगेको थियो । टोलीका लागि कप्तान लियोनेल मेस्सीले योगदान दिने अपेक्षा गरिरहँदा गोलकिपर काबालेरोले टोलीको भाग्य तय गरेका थिए।

उनले एन्टे रेबिकलाई चिप गर्ने प्रयास गर्दा रेबिकले उल्टै भलीमार्फत गोल गर्दै खेलको ५३ औँ मिनेटमा क्रोएसियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अदृश्य झैँ बनेका मेस्सीले दोस्रो हाफमा टोलीलाई फर्काउने प्रयास गरे पनि असफल रहे ।

खेलको ८० औँ मिनेटमा लुका मोड्रिचले अग्रता दोब्बर बनाए भने इन्जुरी समयमा इभान राकिटिचले गोल गर्दै क्रोएसियाको जीत सुनिश्चित गरेका थिए । खेलमा मोड्रिच म्यान अफ द म्यान घोषित भएका थिए ।

विश्वकपमा कुनै पनि दक्षिण अमेरिकी टोलीविरुद्ध पहिलो जीत थियो । दक्षिण अमेरिकी टोलीसँग खेलिएका पछिल्ला ४ खेलमा क्रोएसिया पराजित भएको थियो । सो पराजय सन् १९५८ पछि समूह चरणमा अर्जेन्टिनाको सबैभन्दा ठुलो पराजय थियो ।

पराजयपछि झण्डै प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको अर्जेन्टिना अन्ततः समूह डीबाट दोस्रो हुँदै अन्तिम १६ मा प्रवेश गरेको थियो । तर, त्यहाँबाट टोली अघि बढ्न सकेन । क्रोएसिया भने फाइनलसम्म पुग्दै फ्रान्ससँग पराजित भएर उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.