आफ्नो देशको मिडफिल्ड ‘ट्रायो’ लुका मोड्रिच, माटेयो कोभाचिच, र मार्सेलो ब्रोजोविचबारे डिफेन्डर जोसिप जुरानोविचले भनेका छन्, ‘बैंकमा पैसा राख्नुभन्दा उनीहरुलाई बल पास गर्नु बढी सुरक्षित छ ।’
मंगलबार राति अर्जेन्टिनासँग कतार विश्वकपमा सेमिफाइनलमा क्रोएसिया भिड्दा सबैको आँखा मिडफिल्ड ‘मायेस्ट्रो’ लुका मोड्रिचमाथि हुनेछ । आफ्नो सटिक पासले खेलको लयलाई नै बदल्न सक्ने क्षमता भएका मोड्रिच डि–बक्सबाहिरबाट गोल गर्न पनि उत्तिकै माहिर छन् ।
बालोन डि’ओरमा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको आधिपत्य तोड्ने मोड्रिचको जीवन भने निकै संघर्षपूर्ण रहेको छ । क्रएसियाको जादारमा जन्मेका लुकाको बाल्यकाल समस्याग्रस्त थियो, किनकि उनी क्रोएसियाको स्वतन्त्रता युद्धको उत्कर्षमा हुर्केका थिए । तर समस्याका बाबजुद लुकाले आफ्नो बाल्यकालमा फुटबल खेल्न जारी राखे ।
बाल्यकाल र प्रारम्भिक जीवन
लुका सेप्टेम्बर ९, सन् १९८५ मा जादार, क्रोएशियामा जन्मिएका हुन् । उनकी आमाको नाम राडोज्का डोपुड र बुवाको स्टाइप मोड्रिच हो । उनकी आमा कपडा बनाउने कारखानामा मजदुरको रूपमा काम गर्थिन् र उनका बुबा एरोमेकानिक थिए ।
परिवारको आर्थिक अवस्था औसतभन्दा तल थियो । उनका आमाबाबु शरणार्थी थिए जो भयानक बोस्नियाली युद्धको समयमा सर्बियाली आक्रमणकारीहरूबाट भागेका थिए । उनी क्रोएसियाको स्वतन्त्रता युद्धका बीच हुर्किए । यो युद्धले उनीहरुको आर्थिक स्थितिमा नकारात्मक असर पारेको थियो ।
बुवाआमाको आर्थिक अवस्था कमजोर भएकाले उनले आफ्नो बाल्यकालको अधिकांश समय हजुरबा हजुरआमाको घरमा बिताए । उनले ५ वर्षको उमेरमा बाख्रा गोठालोको रूपमा काम गरे ।
उनका हजुरबुवालाई पछि सर्बियाली विद्रोहीहरूले मृत्युदण्ड दिए । उनको घर जलाइयो त्यसैले उनीहरू आफ्नो जन्मभूमि छोड्न बाध्य भए । समस्याग्रस्त ती वर्षहरूमा, उनका बुबा क्रोएसियाली सेनामा भर्ती भए ।
परिवार सरेको जादर सहरमा बमहरू पड्किनु सामान्य बन्न पुगे । त्यस समयमा सहरका युवाहरूका लागि मन भुलाउने ठुलो माध्यम थियो । लुका पनि त्यसबाट अछुतो हुन सकेनन् । लुका सानैदेखि फुटबलप्रति आकर्षित थिए ।
उनी आफ्नो उमेरको बच्चाको जमातमा होचो र पातला थिए तर उनीसँग फुटबल खेल्ने प्राकृतिक सीप थियो । उनलाई लगातार कमजोर ठानियो । ‘हाजदुक स्प्लिट’ मा युवा परीक्षणको समयमा पनि, उनलाई अस्वीकार गरियो ।
तर, उनको सीप लामो समयसम्म नजरअन्दाज भएन । उनी उपेक्षा गर्नै नसकिने बिन्दुमा पुगे । त्यसका लागि कडा मेहनत गरे । सन् २००२ मा ‘डिनामो जेग्रेब’ द्वारा अनुबन्धित हुँदा उनी १६ वर्षका थिए ।
उनी आफ्नो गृहनगर क्लब ‘एनके जाडार’ युथ टिमका लागि राम्रो प्रदर्शन गरेपछि छनोट भएका हुन् । तर पनि सिनियर क्लब टिममा खेल्नका लागि उनी अझै सानै थिए । उनलाई सन् २००३ मा ‘जिरिन्स्की मोस्टार’ र सन् २००४ मा ‘इन्टर जाप्रेसिक’ का लागि ऋणमा पठाइयो ।
ऋणमा पठाइएका टिमका लागि लुकाले ४० खेलमा १२ गोल गरे । यो एक असाधारण गोल–स्कोरिङ रेकर्ड थिएन, तर मिडफिल्डरका रूपमा यो औसत भन्दा माथिको प्रदर्शन थियो । तसर्थ, उनी सन् २००५ मा जाग्रेबका लागि डेब्यु गर्न तयार थिए ।
जाग्रेबका लागि सिनियर खेलाडीको रूपमा आफ्नो पहिलो नियमित सिजनमा उनले ३१ खेलमा ७ गोल गरे र आफ्नो टोलीलाई लिग जिताउन मद्दत गरे । उनी स्टार स्ट्राइकर एडुआर्डोका लागि मुख्य एसिस्टकर्ता थिए ।
यसरी, लुकाले आफ्नो टोलीलाई अर्को दुई सिजनमा थप दुईवटा लिग च्याम्पियनसिपहरू सुरक्षित गर्न मद्दत गरे ।‘डिनामो’ सँगको आफ्नो दोस्रो सिजनमा, उनलाई ‘वर्ष खेलाडी’ को अवार्डद्वारा सम्मानित गरियो ।
उनले जाग्रेबबाट खेलेका चार सिजनमा ३१ गोल र २९ असिस्ट गरेका थिए । उनले आफ्नो टोलीलाई २००७ को ‘क्रोएसियाली कप’ जिताउनका लागि नेतृत्व पनि गरेका थिए । उनको निकै सफल जाग्रेबसँगको सहकार्य सन् २००८ मा अन्त्य भयो ।
उनलाई सन् २००८ मा ‘इङ्लिस प्रिमियर लिग’ टोली ‘टोटनह्याम हटस्पर’ ले अनुबन्ध गरेको थियो । यो सम्झौता १६.५ मिलियन युके पाउण्डको कीर्तिमानी शुल्कमा तय भएको थियो । उनले टोटनह्यामबाट खेलेका चार सिजनमा १२७ खेलमा १३ गोल गरे ।
उनले आफ्नो टोलीलाई विगत ५० वर्षमा पहिलो पटक सन् २०१०–११ मा च्याम्पियन्स लिग खेल्नका लागि नेतृत्व पनि गरे, जहाँ उनको टोली क्वार्टरफाइनलसम्म पुग्न सफल भएको थियो ।सन् २०१२ मा, लुका विश्वको एक उत्कृष्ट फुटबल क्लब, ‘रियल मड्रिड’ मा गए । यो उनको करियरको सबैभन्दा सफल साबित भयो ।
उनको प्रदर्शनले उनलाई सन् २०१३–२०१४ ‘च्याम्पियन्स लिग’ का लागि ‘टीम अफ द सिजन’ का लागि छनोट गरायो । उनले आफ्नो टोलीलाई सन् २०१५–२०१६, २०१६–२०१७, २०१७– २०१८ को लगातार तीन सिजनको ‘च्याम्पियन्स लिग’ टाइटल जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।
उनी तीनै सिजनमा ‘टीम अफ द सिजन’ को हिस्सा पनि थिए । उनले सन् २०१६ मा ‘ला लिगा अवार्ड’ मा लागि ‘बेस्ट मिडफिल्डर’ को उपाधि जिते । यस्तै सन् २०१७ र २०१८ मा पनि उनलाई ‘यूइएफए क्लब अवार्ड’ का लागि पनि ‘बेस्ट मिडफिल्डर’ को उपाधि प्रदान गरियो ।
सन् २०१६ र २०१८ को ‘फिफा विश्व–११’ टिममा मनोनित हुने पहिलो क्रोएसियाली फुटबलर बने । यस्तै, सोही वर्ष उनी ‘यूईएफ टिम अफ द इयर’ का लागि पनि मनोनित भएका थिए । सन् २०१८ मा ‘यूइएफए मेन्स प्लेयर अफ द इयर अवार्ड’ बाजी मार्ने उनी पहिलो क्रोएसियाली खेलाडी भए ।
यस्तै उनले ‘बलोन डि’ओर’ अवार्ड पनि प्राप्त गरे । उनले सन् २००६ देखि क्रोएसियाली राष्ट्रिय फुटबल टिमबाट खेलिरहेका छन् । आफ्नो राष्ट्रिय टोलीका लागि खेलेका १६० वटा खेलमा उनले २३ गोल गरेका छन् ।
उनले सन् २०१८ को ‘फिफा विश्व कप’ मा आफ्नो टोलीलाई फाइनलसम्म पु¥याए र उत्कृष्ट खेलाडीलाई प्रदान गरिने ‘गोल्डेन बल अवार्ड’ हात पारे । उनले प्रायः सेन्ट्रल मिडफिल्डरको रूपमा खेल्ने गरेपनि उनी एक असाधारण अट्याकिङ मिडफिल्डर हुन् ।
लुका मोड्रिचले भान्जा बोस्निकलाई चार वर्षसम्म डेट गरेपछि सन् २०१० को मेमा विवाह गरे । यो जोडीका तीन सन्तान छन् । छोराको नाम इभानो हो र दुई छोरीको नाम एम्मा र सोफिया हो ।