क्रेजी संवाददाता
उर्लाबारी । सामुदायिक कुकुरको संख्या घटाउन तथा कुकुरमा लाग्ने विभिन्न प्रकारका रोगहरुको नियन्त्रण गर्ने उद्देश्यका साथ उर्लाबारीमा कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन गरिएको छ ।
सडकमा रहेका तथा सामुदायिक कुकुरले मानिस तथा पुश चौपायालाई टोक्न थालेपछि उर्लाबारी नगरपालिकाले छाडा कुकुरको व्यवस्थापनमा सक्रियता देखाएको हो । नेपाल एग्री लाइभष्टक ट्रेनिङ एण्ड रिसर्च इटहरीको प्राविधिक सहयोगरहेको शिविर पुष १० गतेसम्म सञ्चालन हुने छ ।
नगरपालिकाले विगत दुई वर्षदेखि हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविरको आयोजना गर्दै आएको छ । यस पटक दुइ सय वटा कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको पशु स्वास्थ्य शाखा प्रमुख बद्री भट्टराईले जानकारी दिए ।
विगत वर्षमा तीन सय ५० भन्दा बढी कुकुरको बन्ध्याकरण गरिएको हुँदा उर्लाबारीमा कुकुरको प्रजनन्दरमा कमि आएको पशु शाखाका स्वास्थ्य प्राविधिक विष्णुप्रसाद भट्टराईको दाबी छ । ‘पहिले सामुदायिक कुकुरको बच्चा धेरै देखिन्थ्यो तर अहिले त्यो दरमा कमी आएको छ,’ भट्टराईले भन्नुभयो ।
स्वास्थ्य प्राविधिक भट्टराईले सडक सामुदायिक कुकुरको न्युनिकरण र रेविज उन्मुलनका लागि विश्वमा बन्ध्याकरण बाहेक अरु कुनै विधि नरहेको बताउनुभयो । कुकुर बन्ध्याकरण शिविरको अवलोकन गर्दै नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेलले छाडा कुकुरका कारण विभिन्न वडामा पशु चौपायामा समेत क्षति पुगेको जनाउनुभयो । उहाँले कुकुरबाट उत्पन्न हुने जोखिम न्युनिकरणमा शिविर उपयोगी हुने विश्वाश व्यक्त गर्नुभयो ।
पछिल्लो समय विभिन्न सहरमा सामुदायिक कुकुर नियन्त्रणका लागि विष सेवन गराएर मार्ने गरिएको थियो ।
यसरी पशुलाई विष सेवन गराएर मार्न नहुने आवाजहरु बेला – बेला उठिरहदा उर्लाबारीमा भने यस प्रकारको शिविर सञ्चालन भएकोमा पशु अधिकारकर्मीहरुले यस कार्यको स्वागत गरेका छन् ।