इङ्ग्ल्यान्डका कप्तान बेन स्टोक्सले टेस्ट क्रिकेटलाई पर्याप्त महत्व नदिइएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
हालै पाकिस्तानलाई टेष्ट सिरिजमा ३–० ले पराजित गरेका बेन स्टोक्सले बीबीसीको एक कार्यक्रममा पूर्व क्रिकेटर इयान बोथमसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले भने, ‘जसरी टेस्ट क्रिकेटबारे कुरा गरिन्छ, त्यो मलाई मन पर्दैन ।
नयाँ फर्मेट र फ्रेन्चाइजी क्रिकेटका कारण प्रशंसकको ध्यान यसबाट हटिरहेको छ । हामी मान्छौँ कि टेस्ट क्रिकेटभन्दा इतर खेलाडीसँग धेरै नै अवसर छन् । तर मेरा लागि यो निकै खास हो ।’
यस कुराकानीमा, स्टोक्सले आईसीसीलाई टेस्ट क्रिकेटमा मानिसहरूको रुचि बढाउन केही फरक कदम चाल्न आग्रह गरे । उनले भने, ‘मलाई टेस्ट क्रिकेट खेल्न मन पर्छ र मलाई लाग्छ कि हामी केहि फरक कदम चाल्न सक्छौं ।’
यसै क्रममा इयान बोथमले फ्रेन्चाइजी क्रिकेट राम्रो विचार भए पनि घरेलु लिग र टेस्ट म्याचबीच सन्तुलन हुनुपर्ने बताए । उनले भने, ‘टेस्ट म्याचलाई ‘टेस्ट म्याच’ भन्नुको खास कारण छ । यसले कुनै पनि खेलाडीको क्षमता परीक्षण गर्छ ।’