अर्लिङ हालान्ड नायक बन्दा प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले लिड्सलाई ३–१ गोल अन्तरले हराएको हो । सिटीलाई जित दिलाउन हालान्डले दुई गोल गरे ।
त्यस्तै रोड्रीले एक गोल थपे । लिड्सका पास्कलले एक गोल फर्काए । सिटीले पहिलो हाफमो इन्जुरी समयमा रोड्रीको गोलबाट अग्रता बनाएको थियो । खेलको ५१ औं मिनेटमा हालान्डले गोल गर्दै टिमको दोब्बर पारे ।
हालाण्डले खेलको ६४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई जित नजिक लिए ।प्रिमियर लिगमा हालान्डको यो कीर्तिमानी गोल हो । यो गोलसँगै हालाण्डले प्रिमियर लिगमा आफ्नो २० औं गोल पूरा गर्दै लिगमा सबैभन्दा छिटो २० गोल पुगाउने खेलाडीको कीर्तिमानी कायम गरे ।
उनले १४ खेलमा २० गोल पूरा गरेका छन् । खेलको ७३ औं मिनेटमा लिड्सका पास्कलले गोल गरेपनि सिटीले ३–१ गोलको जित निकाल्यो ।
यस जितसँगै सिटीले १५ खेलमा ३५ अंक जोडेको छ । सिटी तालिकाको दोस्रो स्थानमा छ । पराजित लिड्स १५ खेलमा १५ अंक जोडेर १५ औं स्थानमा छ ।