मार्टिनेजबारे एम्बाप्पे : व्यर्थको कुरामा मेरो ऊर्जा बर्बाद गर्दिनँ - Crazysaptahik.com

मार्टिनेजबारे एम्बाप्पे : व्यर्थको कुरामा मेरो ऊर्जा बर्बाद गर्दिनँ

फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि जितेपछि गोलकिपर इमिलियानो मार्टिनेजले किलियान एम्बाप्पेलाई बारम्बार गिज्याइरहेका छन् । तर, फ्रान्सका फरवार्डले भने आफूलाई ती कुराले कुनै फरक नपार्ने बताएका छन् ।

फाइनलमा भएको पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि नायक बनेका मार्टिनेजले त्यस यता एम्बाप्पेलाई निरन्तर रूपमा गिज्याइरहेका छन् । पछिल्लोपटक उनी पीएसजीका स्टार खेलाडीको अनुहार टाँसिएको गुडियासहित टीम बसमा खुसीयाली मनाइरहेको देखिएका थिए ।

यसअघि उनले फाइनल खेलपछि ड्रेसिङ रुममा फ्रेन्च स्ट्राइकरका लागि एक मिनेट मौन धारण गर्न आग्रह गरेका थिए । तर, एम्बाप्पेले भने त्यस्ता व्यर्थको कुरामा आफूले ऊर्जा बर्बाद नगर्ने स्पष्ट पारेका छन् ।

‘त्यो खुसीयाली मनाउने तरिका मेरो समस्या होइन,’ स्टसबर्गमाथि पीएसजीको २–१ को जीतपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘म व्यर्थको कुरामा ऊर्जा बर्बाद गर्दिनँ ।

अहिले मैले मेरो क्लबका लागि शत प्रतिशत दिनु मेराका लागि महत्त्वपूर्ण हो । हामी लियोनेल मेस्सीले पनि क्लबका लागि गोल गर्दै जीत दिलाउने अपेक्षा गरिरहेका छौँ ।’ ‘विश्वकपपछि मैले मेस्सीसँग कुराकानी गरे, उनलाई बधाई दिएँ,’ उनले थपे, ‘मेरोजस्तै उनको यो जीवनको उद्देश्य थियो, म असफल भएँ, त्यसैले तपाईं सधैँ राम्रो स्पोर्टस्म्यान हुनुपर्छ ।

म फाइनलको हारलाई भुलाउन सक्दिनँ । तर, मेरो टोलीको असफलताका लागि मेरो क्लब जिम्मेवार होइनँ । त्यसैले म सकारात्मक ऊर्जाका साथ खेलमा फर्किएको छु ।’

सम्बन्धित खवर