नगर स्तरीय प्याब्सन फुटबलको उपाधि वाल्मीकिलाई - Crazysaptahik.com

नगर स्तरीय प्याब्सन फुटबलको उपाधि वाल्मीकिलाई

तस्बिरहरु : प्रताप राई

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरेमा भएको नगर स्तरीय प्याब्सन फुटबल टुर्नामेन्टको उपाधि वाल्मीकि बोर्डिङ स्कुलले आफ्नो पोल्टामा पारेको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, नगर कार्य समिति पथरीशनिश्चरेको आयोजनामा आज भएको टुर्नामेन्टमा न्यू प्यागोडा बोर्डिङ स्कुललाई सडन डेथमा स्तब्ध पार्दै वाल्मीकिले रोमान्चक जित निकालेको हो ।
खेल अवधिभर वाल्मीकिको तर्फबाट विवेक मगर र उज्वल राईले गोल गरेका थिए भने न्यू पेगोडा स्कुलको तर्फबाट दुबै गोल आदित्य राईले गोल गर्दै बराबरीमा बनाएका थिए । त्यसपश्चात अतिरिक्त समय १० मिनेट थप गरिएको थियो । सो समयमा पनि खेलको निर्णय हुन सकेन र अन्तमा सडन डेथमा वाल्मीकिले बाजी मारेको हो ।

खेल अवधिभर ७ गोल गर्ने न्यू प्यागोडा स्कुलका आदित्य राईलले हाइ स्कोरर गोल्डेन बुट र प्रमाण–पत्र प्राप्त गरे । विजेता र उपविजेता टिमलाई नगर शिक्षा विभागका प्रमुख सालिग्राम काफ्ले र शिक्षा अधिकृत नविन खुलालको हातबाट ट्रफी, मेल, प्रमाण–पत्र लगायतका पुरस्कार प्रदान गरिएको थियो । तीन दिनसम्म चलेको प्रतियोगितामा पथरीशनिश्चरे नगरमा रहेको १८ वटा निजी विद्यालयहरुमा अध्ययरत १५ बर्ष मुनिका छात्रहरु फुटबल खेलमा सहमागी रहेका थिए ।

प्याब्सन नगर समितिका अध्यक्ष सुरेन्द्र लिम्बुको अनुसार एसइई परीक्षामा नगरबाट टप अंक ३.९५ जीपीए ल्याउने प्याराडाइज बोर्डिङ स्कुलका निश्चल काफ्ले र कक्षा १२ मा ३.८ ल्याउने रेडस्टार बोर्डिङ स्कुलका बिपिन पोख्रेललाई आज मात्र नगद सहित सम्मान गरिएको छ ।

सम्बन्धित खवर