धागो कारखानामा ४० बेडको आइसोलेसन अस्पताल तयार - Crazysaptahik.com

धागो कारखानामा ४० बेडको आइसोलेसन अस्पताल तयार


क्रेजी साप्ताहिक बुटवल । बुटवल धागो कारखानाको भवनमा ४० बेडको ‘कोरोना विशेष’ आइसोलेसन अस्पताल तयार पारिएको छ । पूर्वपश्चिम राजमार्ग छेउमै बुटवल औद्योगिक क्षेत्रको पूर्वतर्फ बन्द अवस्थामा रहेको धागो कारखानाको एउटा भवनमा अस्थायी आइसोलेसन अस्पताल बनाइएको हो ।

अस्पतालमा भेन्टिलेटरसहित दुई कोठामा ४० बेड रहेका छन् । सोमबारदेखि अस्पतालको शुभारम्भ गरिने लुम्बिनी प्रादेशिक प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । प्रदेश ५ मा ६ वटा आइसोलेसन अस्पताल बनाउने प्रदेश सरकारले निर्णय गरेको छ, जसमध्ये यो पहिलो हो । अस्पतालमा चिकित्सक र प्राविधिकसहित कम्तीमा १५ जना स्वास्थ्यकर्मी खटाइने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।

आइसोलेसन अस्पताल भवनको बाहिर नेपाली सेनाले निर्माण गरेका टेन्टमा पनि केही बेडहरु राखिएको छ । भर्ना हुने विरामीको संख्या ४० भन्दा बढी भएमा बाहिरका बेडमा राखेर उपचार गरिने उनले बताए । आइसोलेसन अस्पतालमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीका लागि सुरक्षा पोशाक लगायत उपकरणको व्यवस्था भइसकेको तर पर्याप्त नभएको डा. खनालले स्वीकार गरे । अस्पताल बनाउन नेपाली सेना र नेपाल प्रहरीले तीन दिनसम्म श्रमदान गरेका नेपाल प्रहरीका प्रदेश ५ प्रमुख नरबहादुर थापाले बताए ।

बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा अस्पताल बनाइएको हो । आइसोलेनस अस्पताल नहुँदा कोभिड(१९ (कोरोना)सँग मिल्दाजुल्दो लक्षण देखिने बिरामीलाई निजी र सरकारी अस्पतालले समेत भर्ना नलिँदा बिरामीहरुले सास्ती पाउँदै आएका थिए । प्रदेश ५ मा भीम अस्पताल भैरहवा, देवदहको देवदह क्याम्पस, दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पताल,बांकेको नेपाल प्रहरीको अस्पताल र अर्बुद रोग अस्पताललाई अस्थायीरुपमा आइसोलेन अस्पताल बनाउने सरकारले चैत ७ गते निर्णय गरेको थियो ।

सम्बन्धित खवर