सरकारको निर्णयसँगै सीमामा अलपत्र नेपालीमा खुसीयाली - Crazysaptahik.com

सरकारको निर्णयसँगै सीमामा अलपत्र नेपालीमा खुसीयाली

कैलाली । कैलालीको गौरीफन्टा नाकामा अलपत्र नेपालीहरु सरकारको निर्णयसँगै खुसी भएका छन् । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको काठमाडौंमा बसेको बैठकले सिमानामा अड्किएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेसँगै उनीहरुमा खुसीयाली छाएको हो ।

कैलालीको अत्तरियाका भक्तराज भट्टले सरकारको निर्णयले आफूहरु खुसी भएको बताउँदै आवश्यक स्वास्थ्यसम्बन्धी नियम पालना गर्न तयार रहेको जानकारी दिए । पाँच दिन लगाएर उनी बैंगलोरबाट सोमबार साँझ नाकामा आएपुगे पनि प्रवेश पाएका थिएनन् । बैंगलोरस्थित होटलमा काम गर्दै आएका उनी होटल बन्द भएपछि घरमा आएका हुन् ।

कोरोनाको त्रासका कारण भारतको विभिन्न स्थानबाट उनीजस्तै ६०० को हाराहारीका नेपालीलाई सीमा नाका बन्द भइसकेको भन्दै प्रवेश अनुमति दिइएको थिएन । आइतबार बिहान १० बजेदेखि सरकारले सीमा नाका बन्द गराएपनि उनीहरु त्यसपछि नाकामा आइपुगेपछि प्रवेशको अनुमति नपाएका हुन् । सयौंको संख्यामा रहेका उनीहरुले प्रवेश अनुमति पाउनु पर्ने माग गर्दै मंगलबार बिहानैदेखि सरकारविरुद्ध नाराबाजी गरिरहेका थिए ।

उनीहरुको माग अनुसार आजै जिल्ला प्रशासन कार्यालय कैलालीले प्रदेश र संघीय सरकारलाई आग्रह गरेपछि नाकामा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेश गर्न अनुमति दिनेगरी निर्णय भएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले सीमा नाकामा पुगेका नेपालीहरुको विवरण संकलनका साथै स्वस्थ्य परीक्षण पश्चात साँझसम्म उनीहरुलाई नेपाल प्रवेश गराइने जानकारी दिएको छ । सरकारका प्रवक्ता युवराज खतिवडाले कोरोना संक्रणपछि भारतबाट आई सीमा नाकामा रहेका नेपालीहरुलाई आजका लागि मात्रै नेपाल प्रवेशको अनुमति दिने निर्णय भएको जानकारी दिए । नेपाल प्रवेश अनुमति पाएपनि उनीहरु क्वारेनटाइनमा अनिवार्य रुपमा १४ दिनसम्म बस्नुपर्ने छ ।

– रातोपाटीबाट

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.