क्रेजी साप्ताहिक
पथरी । प्रदेश १ मा समेत कोरोनाका शंकास्पद बिरामीहरु बढ्ने क्रम जारी रहेको छ । कोरोना भाइरस संक्रमणको आशंकामा प्रदेशका बिभिन्न जिल्लामा रहेका क्वारेन्टाइनमा १ सय १२ लाई राखिएको छ । ५ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।
यसैगरी ६९ जना होम क्वारेन्टाईनमा रहेका छन् । प्रदेश १ का प्राय सबै जिल्लामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गरीएकाले उनिहरुको स्वास्थ्य परिक्षण गर्न सहज भएको स्वास्थ्यकर्मीले बताएका छन् । यस्तै कोरोना संक्रमित युवती सँगै कतार एयरवेजबाट ताप्लेजुङका दुई जना नेपाल आएको खुलेको छ । दुई जनालाईनै हाल क्वारेन्टाईनमा राखिएको छ । दुई जना मध्ये ताप्लेजुङ पुगेका एकजना परिवारका अन्य दुई सदस्य सहित ताप्लेजुङकै क्वारेन्टाईनमा छन् ।
उनिहरु तीनै जनालाई उद्योग बाणिज्य संघको भवनमा बनाईएको क्वारेन्टाईनमा राखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ताप्लेजुङ घर भएका अर्का एक जनालाई मोरङको टाँडी स्थित क्वारेन्टाईनमा छन् । उनी ताप्लेजुङ नआई मोरङमानै रहेका थिए । विदेशबाट आएका दुवै जना चैत ४ गते कोरोना संक्रमण पुष्टि भएकी युवति चढेको जहाजमा आएका १५८ मध्येका हुन् ।
ताप्लेजुङ उद्योग बाणिज्य संघको भवनमा २० वार्डको क्वारेन्टाइन बनाईएको छ भने जिल्ला अस्पतालमा आईसोलेशन बनाईएको छ । कोरोना संक्रमणबाट ताप्लेजुङमा त्रसित भईहाल्ने अवस्था नरहे पनि सावधानीका साथ बस्नु पर्नेमा जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले जानकारी दिए ।