लकडाउनमा आर्थिक अभाव हुंदा अस्पतालको कब्जामा लिम्बुको शव - Crazysaptahik.com

लकडाउनमा आर्थिक अभाव हुंदा अस्पतालको कब्जामा लिम्बुको शव

अर्जुन जम्नेली राई
पथरी । पथरीशनिश्चरे–१० का २७ वर्षीय दीपक पयाङ लिम्बु छिमेकी लंक तामाङको घरमा सुतिरहेका थिए । राति लंक तामाङको भाइ दोर्जे तामाङ, मुस्कान राई र सञ्जय लिम्बु आएर दीपकलाई कुटपिट गरेका थिए । यो घटना गत फागुन २७ गतेको थियो ।

घटना यतिमा रोकिएन । कुटपिटबाट घाइते दीपक भोलिपल्ट अर्कै घरमा सुतिरहेका थिए । मुखमा पट्टी बाँधेर सोही समूहले दीपकलाई फेरि कुटपिट गर्यो । उनले भाग्ने कोसिश गरे । पिटाइबाट सक्त घाइते भएका थिए सोही भएर भाग्न सकेनन् । समाएर मरणासन्न हुने गरी पिटिए । कुटपिटबाट दीपकको दाहिने आँखा काम नलाग्ने हुनुका साथै टाउँकोमा ब्लड जमेको थियो ।

गम्भीर घाइते दीपकको आर्थिक अवस्था कमजोर भएको कारण उनी अस्पताल गएनन् । घरमै बसे । विरामीको अवस्था कमजोर हुँदै गएपछि कुटपिट गर्ने समूहको आफन्तहरुले पथरी यलम्बर चोकको वसन्त मेडिकलमा ल्याए । र, केही औषधी लिएर घर लगे । विरामीको अवस्था नाजुकको थाहा पाएपछि दीपककी बहिनी मनु आएर चैत ७ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगे । कुटपिट भएको १० दिन बितिसकेको थियो ।

बीपी अस्पतालले आइसीयु छैन अन्तै लानु भने । बिरामीको साथमा बहिनी मनु र ज्वाइँ गंगाबहादुर लिम्बू थिए । दाजुको ज्यान बचाउन बहिनीले दाजु दीपकलाई विराटनगरको बिराट अस्पताल लगिन् । त्यहाँ दीपकलाई आइसीयुमा राखियो । टाउकोको अप्रेशन गरियो । विरामीको अवस्था नाजुक हुँदै जाँदा भ्यान्टीलेटरमा राखियो । अस्पताल र्पुयाको ७ दिनपछि बिहीबार (आज चैत १३ गते) अन्ततः दीपक लिम्बूको मृत्यु भयो ।

दाजुको मृत्यु भएसँगै विराट अस्पतालमा काम गर्ने कर्मचारीहरुले उपचार गरेको पैसा माग्न थाले । पैसा नतिरे शव नदिने र सडकमा फाल्दिन्छु भनेपछि मनु र गंगाबहादुर अस्पताल बाहिर बसिरहेका छन् ।

फोन सम्पर्कमा बहिनी मनुले भनिन्, “हामीसँग पैसा छैन, नतिरी लाश लान दिन्न भन्छ के गर्नु उपाए छैन ।” ज्वाइँ गंगाबहादुरको पनि कुरा उस्तै छ, “हामीलाई पैसा निकाल्न सक्दैनौ दाजु (जेठान)को शव निकाल्न गारोभो ।” मृतक दीपकको आर्थिक अवस्था नाजुक छ । आमाले छाडेर गएपछि बाबुले अर्को बिबाह गरे । जेठीपटीको दाजु बहिनी मात्र हुन् । कान्छीपटीको दुई भाइ र एउटी बहिनी छन् ।

सबैको आर्थिक अवस्था कमजोर छ । त्यसमा पनि बाउ मोहन लिम्बू केही महिनाअघि प्यारालाइसिस भएर औषधी खाइरहनुपर्ने अवस्थाको छन् । उनको पनि चन्दा उठाएर उपचार गरिएको थियो । सात दिनमा विराट अस्पतालको उपचार खर्च ३ लाख ८० हजारको बिल उठेको छ ।

फार्मेसीमा एक लाख २० र ल्याब गरी साढे ५ लाख पुगेको छ । सात दिनमा विराट अस्पतालको उपचार खर्च ३ लाख ८० हजारको बिल उठेको छ । फार्मेसीमा एक लाख २० र ल्याब गरी साढे ५ लाख पुगेको छ । बहिनी मनुले पैसा तिर्न नसकेकै कारण दाजुको शव पाउन त के नजिकसमेत जान सकेकी छैनन् । घटनाबारे बुझ्न पथरीशनिश्चरे नगरपालिका–१० का वडाअध्यक्ष सागर राईलाई फोन लगाइयो । वडा अध्यक्ष राईले नोबेलमा जस्तो बिराट अस्पतालमा छुट गराउन नसक्ने जनाए ।

वडामा यस्तो घटनाको लागि रकम नहुने उनले जानकारी दिए । त्यसपछि नगर प्रमुख दिलिपकुमार राईलाई फोन लाउँदा आफू बिरामी हेर्न एक पटक गएको नगरबाट पछि केही रकम निकासा गर्न सकिए पनि हाल केही गर्न नसक्ने बताए । प्रमुख राईले घटनाबारे संविधानसभा सदस्य चण्डीप्रसाद राईलाई बढी जानकारी हुने बताए ।

संविधानसभा सदस्य चण्डीप्रसाद राईसँग कुरा हुँदा आफू अस्पताल गएरै छुट गराउने तर बिरामीको आफन्तसँग तिर्ने पैसा हुनुपर्ने कुरा राखे । उनी दीपकको परिवार पैसा निकाल्न नसक्ने अवस्थामा रहेको जानकार रहेछन् । घटना संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको क्षेत्रमा पर्छ । चण्डीप्रसाद राईको कुरा सुनिसकेर अस्पताल सन्चालक डा. ज्ञानेन्द्र गिरीलाई फोन लाइयो ।

उनी नेकपा समर्थक हुन् । ढकालले तीन दिनअघि मनु भेट्न आएको र तीन दिनपछि पैसा ल्याउँछु भनेकोले प्रशासनमा फोन गरेर भनिदिएको जानकारी दिदै अस्पताल प्रशासनरलेखा अधिकृत सुबास पोख्रेलको नम्बर दिए । पोख्रेलले भने सिधा र निर्मम कुरा सुनाए ।
उनको भनाइ यस्तो छ :-
सर, पैसा नल्याइ त शव कसरी दिनु । कोरोनाको संकट भए पनि सबै बैंक खुल्ला छ । हाम्रो खातामा पैसा ब्यालेन्स गर्ने शव लिएर जाने । पैसा नलिइ शव पठाउँदा त हाम्रो अस्पताल बन्द गरे भइगयो नि । कोरोना, लकडाउन भए नि पैसाको ममलामा नर्मल मान्दिनुस्,अर्को उपाए छैन ।
कुटपिट गर्ने एक जना मात्र पक्राउ :-
दीपकलाई कुटपिट गर्नेमध्ये मुस्कान राई मात्र पक्राउ परेका छन् । बाँकी दुई जना हिजोसम्म गाउँमै भेटेको स्थानीय गणेश लिम्बूले बताए । इलाका प्रहरी कार्यालय पथरीको प्रमुख डीएसपी दिलीप गिरीले अरुको पनि खोजी भइरहेको औपचारिक जानकार दिए ।

घटनाको उजुरी नै ढिलो आएको प्रमुख गिरीको भनाइ छ । विराट अस्पतालले शव रोकेको बारे भने गिरीले त्यसो गर्न नपाइने बताए । कर्तव्य ज्यानको उजुरी परेपछि प्रकृति मुचुल्का उठ्ने अनि कोशी अस्पतालमा पोष्ट मार्टम हुने प्रक्रिया सुनाए ।

बहिनी मनुको गुनासो :-
कान्छी आमा भएको कारण दीपकको घरमा त्यति मेलमिलाप नभएको कारण दीपक प्रायः आफ्नो घर भन्दा बढी गाउँतिरै बस्थे । दाजुलाई आक्रमण हुँदा मनु धरानमा थिइन् । पतिसँग धरानमै बस्छिन् उनी । बर्ष्दिनको नानी छ मनुको । उनले भनिन्, “दाइलाई दुई पटक कुटेर दाहिने आँख फुटाइ दिए । टाउकोमा ब्लड जम्ने गरी खेदाइखेदाइ पिटियो । यस्तो गम्भीर बिरामी हुँदा पनि दाइको बारे वडा अध्यक्ष सगर राई, नगर प्रमुख दिलिपकुमार राईले किन चासो लिएनन् ? प्रहरीले किन अपराधी पक्रेनन् ? के गरिबलाई बाँच्ने अधिकार छैन ? मेरो दाइलाई समयमै उपचार पुगेको भए बचाउन सकिन्थ्यो । मैले सक्दो बचाउने प्रयास गरेँ, सकिन । के त्यहाँको समाजको जिम्मेवारी छैन ?”

पैसा नभएको कारण अहिले शव निकाल्न स्थानीय सरकारले सहयोग गरे हुन्थ्यो भन्ने मनुको आशा छ । मनुको अर्को माग छ । अपराधीलाई तुरुन्त पक्राउ गरेर कारबाही गरियोस् । आफ्नो दाजुलाई तड्पाइ(तड्पाइ मारेकाले क्षतिपूर्ति समेत भरियोस् ।

मनुले कसैको सहयोग नपाए पथरीशनिश्चरे नगरपालिका( १० नम्बर वडामै गएर आत्महत्या गर्ने चेतावनी दिएकी छन् । हाल विश्व कोरोनाभाइसका कारण अस्तव्यस्त बनेको छ । नेपाल लकडाउन भएको बेला मनु लिम्बूलाई बज्रपात परेको छ ।

छिमेकीको कुटपिटबाट उनले माइती गुमाउनु परेको छ । त्यसमा पनि व्यवहारिक, कानूनी र आर्थिक सहयोग नपाउँदा पीडामाथि पीडा थपिएको छ, मनुलाई । रुदै फोनमा बोलेकी मनुले भनिन्, “राज्य, सरकार, अभिभावक कोही नभएको जस्तो भइरहेको छ ।”

सम्बन्धित खवर