
क्रेजी साप्ताहिक
पथरी । कोरोना भाइरस आशंका भएका विरामीहरुका लागि मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले १० बेडको आइसोलेसन वार्ड तयार पारेको छ ।
पथरी नगर अस्पतालमा १० बेडको आइसोलेसन वार्ड तयार भएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष यामप्रसाद गुरागाईंले बताउनुभयो । यस क्रममा नगर प्रवक्ता समेत रहनु भएका गुरागाईंले कोरोना भाइरस संक्रमण रोक्न गरिएको वन्दका बेला केही नगरवासीहरु अनाहकमा बाहिर निस्किएको पाइएपछि नगरपालिकाले घर बाहिर ननिस्किन आव्हान गर्दै आज पनि माइकिङ गरेको जानकारी गराउनु भयो । नगर प्रमुख दिलीपकुमार राई, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन सहितले पनि कोरोनाको संक्रमण फैलिन नदिन गरिएको ‘लकडाउन’को अवस्था निरीक्षण गर्दै नगरवासीलाई घरभित्रै वस्न सचेत गराउनु भयो ।

यस्तै, नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा आज वडा नम्वर १, २, ३, ४, ५, ६, ७, ८ र ९ नम्बर वडामा माइकिङ गरिएको छ । इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मी सहितको नगरको टोलीले बाहिर हिडडुल गरिरहेकाहरुलाई घरभित्रै वस्न सूचित समेत गरेको छ । कतिपय ठाउँमा भेटिएका समूहलाई कडा चेतावनी समेत दिएर घर पठाइएको छ । सो क्रममा उपप्रमुख विष्टको अगुवाईको टोलीले हसन्दह सहितका केही पसलमा खाद्यान्नको अवस्थाको समेत अनुगमन् गरेको छ । साथै टोलीले नगर अस्पतालमा निर्माण भएको आइसोलेसन् तथा स्वास्थ्य गतिविधि तथा हसन्दह स्वास्थ्य चौकीको स्वास्थ्य गतिविधि पनि अनुगमन् गरेको छ । हिजो पहिलो दिन वडा नम्वर १ र १० मा माइकिङ गरिएको थियो । केही स्थानमा भनें स्थानीयले नै सडकमा आवत जावत गर्न रोक लगाउन बाँसले सडक छेकेर सजकता अपनाएको समेत पाइएको छ ।

नगरपालिका कार्यालयले विपन्न समुदाय तथा ज्येष्ठ नागरिक र बालबालिकाहरुलाई केन्द्रीत गरेर मास्क वितरण समेत गरेको छ । नगरकातर्फबाट वडा नम्वर २ मा मास्क सिलाउने र केही वितरणको काम भइरहेको छ । वडा कार्यालयहरुले समेत आ– आफ्नातर्फबाट मास्क निर्माण गरी वितरण कार्य अघि बढाएका छन् । जसमा वडा नम्वर ९ ले ५ सय मास्क तयार गरेर ज्येष्ठ नागरिकलाई केन्द्रीत गरी आज वडावासीमा मास्क वितरण गरिएको वडाध्यक्ष भानुभक्त राईले वताउनु भयो । हातधुने वाल्टीहरुको पनि व्यवस्था गरिएको छ ।
वडाको विपत व्यवस्थापन कोषबाट ८ नम्बर वडाले ८ सय मास्क र १० थान हात धुने बाल्टी वडाका आवश्यक ठाउँमा वितरण गरेको वडाध्यक्ष बाबुराम दहालले जनाउनु भयो । बिपन्न ,सुत्केरी, गर्भवती र अशक्तहरुलाई मास्क थालिएको छ ।
१० नम्वर वडाध्यक्ष सागर राईले अमेरिकामा रहनु भएका आफ्ना बुबा गुल्सन राईसँगको सहकार्यमा ४ सय मास्क वितरण गर्नुभएको छ । वडा नम्वर ४ मा पनि मास्क निर्माण भइरहेको छ । अन्य वडामा पनि मास्क निर्माण गर्दै वितरणको कार्य थालिदैछ ।

