एकैदिन १७५ किलो चामल, १५० किलो नुन र खाने तेल संकलन - Crazysaptahik.com

एकैदिन १७५ किलो चामल, १५० किलो नुन र खाने तेल संकलन

क्रेजी साप्ताहिक
शनिश्चरे । मोरङ पथरीशनिश्चरे वडा नं. ४ मा कोरोना विरुद्धको विपद व्यवस्थापन तथा राहत समितिले राहत संकलन कार्यलाई तीव्रता दिएको छ । समितिले पहिलो दिन आज विहीबार वडामा दैनिक ज्यालादारी विपन्न मजदुरहरुको लागि खाद्यान्न संकलन गरेको छ ।

विहीबार मात्र वडाका विभिन्न संघ संस्था र व्यक्तिहरुले खाद्यान्न सहयोग समितिलाई हस्तान्तरण गरेका छन् । जसमा र समाजसेवी ध्रुबकुमार बराईलीबाट १०० किलो चामल वडाको कोरोना विरुद्धको विपद व्यवस्थापन तथा राहत समितिलाई हस्तान्तरण भएको छ ।

संयुक्त वडास्तरीय महिला समितिले ७५ किलो चामल, एक कार्टुन खानेतेल सहयोग गरेको छ । यस्तै प्रतिज्ञा विश्वाश मण्डलीको तर्फबाट १५० किलो नुन प्रदान भएको छ । सहयोगी दाताहरुले कोरोना विरुद्धको विपद व्यवस्थापन तथा राहत समिति, वडाका जनप्रतिनिधिहरु र पत्रकारकाबीच हस्तान्तरण गरेका हुन् । जसमा वडाध्यक्ष एवं कोरोना विरुद्धको विपद व्यवस्थापन तथा राहत समिति संयोजक गोविन्दबहादुर भण्डारी, सदस्य रामप्रसाद न्यौपाने, वडासदस्यहरु खड्ग सुस्लिङ, तुलसादेवी दर्जी, अमर बराईली, दिलु मगर, वडासचिव ललिता लावतीको रोहवरमा खाद्यान्न हस्तान्तरण गरिएको हो ।

यसैगरी, दाताहरुको तर्फबाट समाजसेवी ध्रुवकुमार बराईली, संयुक्त वडास्तरीय महिला समिति अध्यक्ष चन्द्रकला चेम्जोङ, गंगामाया साँवा, सचिव मुना पाण्डे, कोषाध्यक्ष फुलमाया तामाङ, सदस्य सरस्वती चौधरीलगायतको सहभागिता रहेको थियो । यस्तै सो अवसरमा विश्वकर्मा सेवा समाजका जिल्ला अध्यक्ष राजकुमार विश्वकर्मा, युवा समाजसेवी नारायण दाहाललगायतको उपस्थिति थियो ।

वडामा कुनै संघ संस्था वा व्यक्तिले सहयोग गर्न चाहेमा एकद्वार प्रणाली मार्फत् वडामा गठित समितिको माध्यमबाट नै वितरण गर्न वडाध्यक्ष भण्डारीले अनुरोध गरेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.