क्रेजी साप्ताहिक
पथरी । लकडाउनको मौका छोपेर मोरङको पथरीशनिश्चरे–१ पूर्व बस स्टेन्ड नजिकै शुक्रबार दिउँसो गैरकानूनी रुपमा तीन वटा रुख ढालिएको छ ।
रुख ढालिएको स्थान ट्राफिक प्रहरी कार्यालय पथरीको कार्यालयदेखि दक्षिणमा पर्दछ । करिब २ बजे रुख ढालिएको थियो । रुख भएको क्षेत्र
धिमाल जातीय विकास केन्द्र पथरी ग्रामथानको हो ।
दुई वटा रुख ढालिसकेपछि तेस्रो रुख ढाल्दै गर्दा सेक्टर वन कार्यालय पथरी र सेक्टर वन कार्यालय उर्लाबारी मंगलबारेको वन रक्षक टोली त्यहाँ पुगेको थियो ।
सेक्टर वन कार्यालय पथरीको प्रमुख महोमद अलाउदिनले रुख ढाल्ने कार्यमा पारस बुढाथोकी, शंकर लिम्बु पहिचान भइसकेको जानकारी दिए । उनीहरु काम गर्ने लेबरहरु बुझिएको छ । कर्मचारी त्यहाँ पुग्दा अभियुक्तहरु तुरुन्त फरार भएको अलाउदिनले बताए ।
सो विषयमा धिमाल जातीय विकास केन्द्र पथरी नगर अध्यक्षसँग सम्पर्क गर्दा उनले भने –‘रुख ढलेपछि म गएर निरीक्षण गरेँ । तर, त्यहाँ वरीपरी मैले बुझ्दा कोही बोलेनन् । यो कस्ले गरेको हो मलाई नि थाहा भएन ।’ उनले पुनः थपे–‘यो रुख काट्ने कार्यले कोही अन्जान मान्छे मेरो घरमा आएर लात्ती हाने जस्तो भएको छ । यसको खोजी कार्य हुने नै छ ।’
यस्तैगरी धिमाल जातीय विकास केन्द्र पथरी गाउँ टोल समितिका अध्यक्ष गोविन्द धिमालले पनि आफूलाई केही थाहा नभएको बताए । यस्तै घटनास्थलमै भेटिएको १ नम्बर वडा अध्यक्ष बाबुराम ऐङ्दनले आफूलाई सो बिषयमा जानकारी नभएको बताए ।