काठमाडौं । जाजरकोटको भेरी नगरपालिका ४ खलंगाका नवराज विक र रुकुमपश्चिमको चौरजहारीकी सुष्मा मल्लबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो ।
यो विषय विस्तारै दुबैतिरका परिवारले थाहा पाए । केटीतर्फका परिवारले दलित केटासँगको प्रेम सम्बन्ध कुनै पनि हालतमा अघि बढ्न नसक्ने भन्दै पटक पटक चेतावनी दिँदै आएको थियो । तर, गहिरो माया बसेपछि उनीहरु एकअर्का्बिना बाँच्न नसक्ने भन्दै विवाह बन्धनमा बाँधिने निर्णयमा पुगे । केटाको घरमासमेत केटी आउजाउ गर्थिन् ।
आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने सल्लाहबमोजिम सुष्माकै आग्रहमा नवराज साथीहरुसँग केटीको गाउँ सोती पुगे । एक्लै गए खतरा हुने ठानेरै १८ जना साथी लिएर गएका नवराजलाई अन्नतः साथीहरुले पनि जोगाउन सकेनन् ।
स्थानीयको आक्रमणमा नवराजसहित दुईजनाको मृत्यु भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा जाजरकोटबाट राजेन्द्र कार्कीले लेखेका छन् । बेहुली लिन गएका जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको शव शुक्रबार बिहान भेरी नदी किनारमा भेटियो ।
प्रेमिकाको आग्रहमा बेहुली लिन गएका नवराजसहितको टोलीमाथि वडाध्यक्ष डम्बरबहादुर मल्लसहित सोतीका गाउँलेले आक्रमण गरे। १२ जनालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए । केटीका आमाबुवाले गाउँले बोलाएर आक्रमण गरी लखेटेर हत्या गरेको पीडित पक्षको भनाई छ ।
घटनापछि चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुबा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्लसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भेरी ४ का गणेश विक, भेरी ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र चौरजहारी १ का टीकाराम सुनार वेपत्ता छन्। तीमध्ये एक जनाको शव फेला परेको छ ।
नवराज सहितको युवा समूहलाई तल्लो जातको केटाले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै स्थानीयले आक्रमण गरेको स्थानीयले बताएका छन् ।
तर, केटी पक्षले केटीको उमेर नपुगेको र केटीले बिहेका लागि अस्वीकार गरे पनि जबर्जस्ती लान खोज्दा विवाद भएको दाबी गरेका छन् । ‘दुलही लिन गएको छोरा लाश बनेर आयो,’ बाबु मोहन विकले भने, ‘घटना सुनेदेखि आमा बेहोस् छिन् । पुलिसको जागिर खाएर बिहे गर्छु भन्थ्यो । पापीहरुले कलिलैमा हत्या गरिदिए ।’
– नेपाल खबरबाट