
बलिउड अभिनेता किरण कुमारको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । हालै गरेको उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनी अहिले होम क्वारेन्टिनमा बसेका छन् ।
उनले आफूमा कोरोना संक्रमणको केही लक्षण नदेखिए पनि रिपोर्ट भने पोजेटिभ आएको प्रतिक्रिया दिएका छन् । ‘म एकदमै ठिक छु ममा कोरोनाका कुनै लक्षण नै छैनन्’, उनले भनेका छन्, ‘१४ मे मा स्वास्थ्य जाँचका लागि अस्पताल गएको थिए । त्यही समयमा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।’
उनले अहिले पनि आफूमा ज्वरो, खोकी लगायतका कुनै पनि लक्षण देखिए पनि आफू होम क्वारेन्टिनमा बसेको जानकारी दिए । ‘स्वास्थ्य जाँच गरेको १० दिन भयो, अहिले पनि ममा कुनै लक्षण छैन’, उनले भने, ‘म परिवारभन्दा भिन्न बस्दै आएको छु ।’ उनले २६/२७ मे मा आफ्नो दोस्रो नमूना परीक्षण हुने बताएका छन् ।
यसअघि बलिउडकी गायिका कनिका कपुर, चेन्नइ एक्स्प्रेसका निर्माता करिम मोरानी र उनका दुई छोरीहरु शजा र जोआ मोरानीमा पनि कोरोना पोजेटिभ देखिएको थियो । किरण बलिउडका चर्चित अभिनेता हुन्। ६० को दशकबाट करिअर सुरु गरेका उनको पहिलो फिल्म ‘लब इन सिम्ला’ अपराधी, मिस्टर रोमियो, सौदागर, कातिल, गंगा तेरे देशमे, ए है जलबा, धडकन, मुझसे सादी करोगी लगायतका चलचित्रमा उनको अभिनय रहेको छ ।

