
क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. २ मा अवस्थित हरियाली समुदायिक वन लिमिटेडले संस्थापक शेयर आव्हान गरेको छ ।
शनिश्चरे नगरपालिकामा स्थापित हरियाली समुदायिक वन उपभोक्ता समितिले पर्यटकीय क्षेत्र विकास गर्ने उद्देश्यले कम्पनी दर्ता गरेर शेयर खुलाएको हो । कम्पनी दर्ता भएर आएपछि कम्पनी सञ्चालक समितिको गत ३ असारमा बसेको बैठकले शेयर आव्हान गर्ने निर्णय गरेको छ ।
कम्पनीले समुदायिक वनभित्र वन विकास र जंगली जनावरलाई असर नपर्ने गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न २० करोड लगानीको योजना बनाएर कम्पनी सुरु गरेको हो। पथरीशनिश्चरे नगरपालिकाले कुल लगानीको १० प्रतिशत शेयर बराबर हुने दुई करोड लगानी गर्ने निर्णय गरिसकेको छ ।
बाँकी रहेको ९० प्रतिशतमा हरियाली सामुदायिक वन उपभोक्ता समितिले ३५, हरियालीको उपभोक्तालाई २५, नगरपालिकाभित्रका मतदाता परिचय पत्रको आधारमा २० र उद्यम तथा पर्यटनसम्बन्धी काम गर्दै आएका निजी क्षेत्रका कम्पनी तथा व्यक्तिहरुका लागि १० प्रतिशत शेयर वितरण गर्ने निर्णय भएको छ ।
एक व्यक्ति वा कम्पनीले सय रुपैयाँ प्रतिकित्ता शेयर कम्तिमा सय वटा किन्नु पर्ने व्यवस्था गरिएको छ । पर्यपर्यटकीय क्षेत्र झर्ना, गार्डेन, विभिन्न रंगीन माछासहितको एक्युरियमम, बोटिङसहितको पोखरी, स्विमिङ पुल निर्माण गर्ने योजना गरेको हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष काबुलबहादुर मगरले जानकारी दिए ।
शेयर खुलेको सूचना सार्वजनिक भएपछि तोकिएको मापदण्डमा रही बिक्री भइरहेको कम्पनीको अध्यक्ष देविप्रसाद भेटवालले बताए। कम्पनीले पर्यटकीय क्षेत्रको साथै शेयर सदस्यहरुलाई रोजगारी दिने उद्देश्यले कृषि क्षेत्रमा लगानी गर्ने योजना रहेको बताइएको छ ।

