विराटनगर। विश्वमा अत्याधिक महँगो सूचीमा रहेको मेथान्टामाइन आइस नामक लागुऔषधसहित मोरङबाट प्रहरीले पहिलो पटक एक उच्च घरनाका व्यवसायीलाई पक्राउ गरेको छ । दुव्र्यसनीले धेरै रुचाएको सूचीमा पर्ने र अत्याधिक माग रहेको यो एक प्रकारको केमिकल ड्रग्स उच्च गुणस्तरको र नयाँ प्रकृतिको रहेको प्रहरीले जनाएको छ । उच्च गुणस्तरको लागुऔषधसहित मोरङको सुन्दरहरैंचा नगरपालिका –८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेललाई पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलले जानकारी दिनु भयो । प्रहरीले बिक्री गर्ने तयारीमा रहेको पाँच सय ३० ग्राम ९३ मिलिग्राम ( आधा किलोग्राम भन्दा बढी ) लागुऔषध पनि बरामद गरेको पोखरेलको भनाइ छ ।
विशेष सूचनाका आधारमा मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले लागुऔषध कारोबारी पोखरेललाई पक्राउ गर्नका लागि लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोली परिचालन गरेका थिए । कोही व्यक्तिलाई लागुऔषध पु¥याउन आउँदै गर्दा उनलाई प्रहरीले विराटनगरको बरगाछीबाट पक्राउ गरेको हो । पक्राउ परेका बेला पोखरेलको साथबाट दुई सय ग्राम २२ मिलिग्राम लागुऔषध बरामद भएको थियो । प्रहरीले सुन्दरहरैंचाको सलकपुरस्थित उनको घरमा छापा हानेर मंगलबार साँझ अरु लागुऔषध बरामद गरेको हो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।
नयाँ प्रकृतिको र उच्च गुणस्तरको लागुऔषधका कारोबारी पोखरेल उच्च घरनाका व्यवसायी रहेको प्रहरी स्रोतले बतायो । उद्योगमा लगानीसमेत रहेका उनी घरजग्गाको पनि कारोबार गर्ने गरेको बताइएको छ । एसपी पोखरेलले उच्च गुणस्तरको लागुऔषध र यसका कारोबारी पक्राउ परेको प्रदेश १ कै पहिलो घटना भएको जानकारी दिए । ‘यही प्रकृतिको लागुऔषध बरामद भएको र कारोबारी पक्राउ परेको यस अघि कुनै घटना प्रदेशमा छैन,’ उनले भने , ‘यस घटनाले दुव्र्यसनीले सबैभन्दा बढी रुचाएको र अत्याधिक महँगो लागुऔषधको कारोबार यहाँ पनि हुन थालेको पुुष्टि भएको छ ।’ उच्च गुणस्तरको महँगो यो लागुऔषधको नेपालमा तस्करी एकदमनै कम मात्रामा र बेलाबेलामा हुने गरेको प्रहरी बताउँछन् । मेथान्टामाइन आइस नामक केमिकल ड्रग्स लागुऔषध हो भन्ने कुरा केही अघि जापानको एउटा प्रयोगशालाबाट पत्ता लागेको प्रहरी स्रोतको भनाइ छ ।
यसको अन्तर्राष्ट्रिय मूल्य प्रति ग्राम ८० डलरभन्दा बढी रहेको र तस्करी हुँदै नेपालसम्म आइपुग्दा प्रति किलो तीन करोड रुपैयाँसम्म पर्ने दाबी प्रहरीले गरेको छ । पक्राउ परेका पोखरेलले यही लागुऔषधको कारोबार गर्नका लागि अरु मुलुकामा पनि अन्तर्राष्ट्रिय हिसाबको सञ्जाल विस्तार गरेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानको दायरा फराकिलो पारेको छ । नेपालमा पनि नेटवर्क बनाएर उनले कारोबार थालेको हुन सक्ने प्रहरीको अनुमान छ

