अध्यक्ष लिम्बुलाई नछाडे आन्दोलन गर्ने सुकुम्बासीको चेतावनी - Crazysaptahik.com

अध्यक्ष लिम्बुलाई नछाडे आन्दोलन गर्ने सुकुम्बासीको चेतावनी

क्रेजी साप्ताहिक
पथरी । प्रहरीले नियन्त्रणमा लिएको सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिको अध्यक्ष मौसम लिम्बुलाई नछाडे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मोरङको पथरीशनिश्चरे –३ मा जग्गाको बिषयलाई लिएर ईश्वरी सापकोटाले आफूलाई धम्की दिएको भन्दै इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएपछि लिम्बु शनिबार पक्राउ परेको छ । पक्राउ परेका लिम्बुलाई अभद्र व्यवहारमा मुद्दा दर्ता भएको प्रहरी प्रमुख दिलिपकुमार गिरीले जानकारी दिए ।

सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिको उपाध्यक्ष ज्ञानेन्द्र राई र सचिव कुवेरमान घतानीले आइतबार विज्ञप्ति प्रकाशन गरी चेतावनी दिएका हुन् । लिम्बुलाई तत्काल रिहाइ नगरे त्यसबाट आउने परिणामको जिम्मा उजुरी गर्ने ईश्वरी सापकोटा, स्थानीय सरकार र प्रहरीले लिनुपर्ने चेतावनी दिएका छन् । मौसम लिम्बु पक्राउ परेपछि शनिबार साँझ झण्डै ३ सय सुकुम्बासीहरुले प्रहरी कार्यालय घेराउ गरेका थिए ।

सुकुम्बासीहरुले आइतबार पनि पथरी शनिश्चरे नगरपालिका र प्रहरी कार्यालय घेराउ गरेका छन् । नगरपालिकामा कोणसभा गरी उदय मादेन र ध्रुव मगरले बोलेका थिए । कोणसभापछि नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्टसँग सुकुम्बारी टोलीको छलफल भएको थियो ।

छलफलमा सुकुम्बासीको तर्फबाट मित्रलाल राई, सुमिल योङहाङ लिम्बु र गंगा गहतराजको जग्गा ईश्वरी र उनको बाबु अभिकेशर सापकोटाले पास गरिदिनु पर्ने र लिम्बुलाई रिहाइ गर्न पहल गर्न माग गरेका थिए । नगरपालिकाको बैठकमा समितिको सदस्य पृतम लिम्बु, समसेर राई लगायत सहभागी रहेका थिए ।

सुकुम्बासीसँगको छलफलमा जग्गा उपभोग गर्दै आएका राई, लिम्बु, गहतराजले पाउने गरी धनिपुर्जा दिलाउने जिम्मा आफूले लिने प्रतिबद्धता गरेको सुकुम्बासी साझा संस्थाको सचिव कुवेरमान घतानीले जानकारी दिए ।

नगरपालिकाले सुकुम्बासी सम्बन्धी पछिल्लो समस्या बारे अध्ययन गर्न वडा अध्यक्षहरु कपिलमणि ढकाल र बाबुराम दाहाललाई प्रतिनिधिको रुपमा पठाएका छन् । नगरपालिकाको छलफलपछि करिब तीन सयको संख्यामा रहेको सुकुम्बासीहरु इलाका प्रहरी कार्यालय पथरीको गेट छेउमा गएर भूमाफियालाई कारबाही गर, प्रहरी दमन मुर्दावाद, मौसम लिम्बुलाई रिहा गर लगायतको नारा लगाएका नाराजुलुस गरेका थिए ।

ईस्वरी सापकोटाको बाबु अभिकेशर सापकोटाले वि.सं. २०५४ सालमा उक्त स्थानमा एक बिगाहा १७ कट्ठा जग्गा किनेका थिए । सापकोटा परिवारको अंश गर्ने बेलामा नाप्दा ९ कट्ठा नपुगेको ईश्वरी सापकोटाले बताउदै आएका छन् । नगरपालिकाले तथ्याङ्क लिन वि.सं. २०७२ मा दोहोरो स्वामित्व हुने जग्गाधनी र सुकुम्बासीहरुलाई नाम दर्ता गराउन सूचना आव्हान गरेको थियो ।

त्यो बेला भूमाफियाकै लाइनमा ईश्वरी सापकोटाले फारम भरेका थिए । सो कुरा थाहा पाएपछि सापकोटाको तीन सँधियारहरुले उक्त जग्गा आफूहरुलाई पास गरिदिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिलाई उजुरी दिएका थिए ।

सम्बन्धित खवर