
क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा भएको नगरस्तरीय महिला फुटबल प्रतियोगिताको हिसाव आज (सोमबार) सार्वजनिक भएको छ ।
तत्कालीन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी पथरी बहुमुखी क्याम्पस इकाई समितिले आयोजना गरेको महिला फुटबल प्रतियोगिताको हिसाव सार्वजनिक भएको हो । २०७५ पुस १४ देखि १८ गतेसम्म तत्कालीन एमाले र माओवादी पार्टी एकीकरणको चरणमा हुँदा पार्टी सम्बद्ध दुई वटा संगठन मिलेर महिला फुटबल प्रतियोगिता गराएका थिए ।
क्याम्पसको स्ववियु उपसभापति निता राईलाई खेलकुद कार्यक्रमको संयोजक बनाएर प्रतियोगिता भएको थियो । अनेरास्ववियुको इकाई समिति संयोजक जनक पोख्रेल, सचिव मुकेश राई, अखिल क्रान्तिकारीका प्रकाश चौहान, पार्टी सम्बद्ध युवा मनि लिम्बु लगायतको टोलीले नगर स्तरीय महिला फुटबल प्रतियोगिता गराएका थिए ।
फुटबल प्रतियोगिताको खेल संयोजक निता कुलुङ राईले पत्रकार भेटघाटको आयोजना गरी हिसाव सार्वजनिक गरेकी हुन । फुटबल सफलतापूर्ण ढंगले भएपनि प्रतियोगिता हुँदाको हिसाव तत्काल नजुटेको, दुई संगठन एकीकरणको चरणमा रहेको हुँदा तत्काल सार्वजनिक हुँन नसकेको संयोजक राईले बताइन् ।
प्रतियोगिता हुँदा पथरीशनिश्चरे नगरबाट ८० हजार, राष्ट्रिय खेलकुद परिषद्बाट ७५ हजार, नगरपालिका विभिन्न वडाहरुबाट २५ हजार अन्य सहयोगिहरुबाट ५७ हजार पाँच सय गरेर दुई लाख ३७ हजार ५ सय संकलन भएको उल्लेख छ ।
खर्चतर्फ नगद र ट्रफी पुरस्कार, टिम फियर, कार्यक्रम सूचना विज्ञापन, ईन्धन, छपाई, टेन्ट साउण्ड सिस्टम, मैदान व्यवस्थापन, जर्सी, न्यु स्टार क्लव सहयोग लगायतको शिर्सकमा २ लाख ८६ हजार खर्च भएको हिसाव सार्वजनिक गरेकी छन । कार्यक्रममा ४८ हजार ५ सय रुपैया घाटामा भएको विवरण प्रस्तुत गरेकी छन । विभिन्न कारणले हिसाव सार्वजनिक ढिलो भएकोमा क्षमा माग्दै कार्यक्रममा सहयोगीहरुलाई संयोजक राईले धन्यवाद दिएकी छिन् ।

